अस्मिता सापकोटा
काठमाडौं, २० असार । संस्कृतमा एउटा भनाइ छ ‘आरोग्यं परमम् भाग्यम्, स्वास्थ्यम् सर्वार्थसाधनम्’ अर्थात् स्वास्थ्य र आरोग्य सबैभन्दा ठूलो प्राप्ति हो । स्वास्थ्य एकमात्र यस्तो अवस्था हो, जसविना जीवनका कुनै पनि साध्य हासिल हुन सक्दैन । त्यसैले मानिस स्वभावैले स्वस्थ जीवन र स्वस्थकर जीवनशैली चाहन्छ । जीवनमा आरोग्य हासिल गर्न धेरै हदसम्म सम्भव पनि छ । कतिपय प्रतिकूल परिस्थिति र अनपेक्षित घटना वा कारणबाहेक मानिसले स्वास्थ्य अवस्था सन्तुलित नै राख्न सक्छ । यसका लागि केही आधारभूत पक्षहरूमा भने ध्यान दिनैपर्ने हुन्छ । तर स्वस्थकर जीवनशैलीका न्यूनतम शर्त वा नियम पालना नगर्दा मानिसले आफ्नो स्वास्थ्य गुमाउँदै गएको हुन्छ । नेपालमा सन्दर्भमा त झन् अस्वस्थकर जीवनशैलीकै कारण मानिसमा कम उमेरमै विभिन्न स्वास्थ्य समस्या बढ्दै गएको छ । जानेर वा नजानेर हामी अस्वस्थकर जीवनशैली अपनाइरहेका हुन्छांै । नेपालीहरूको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेका कारण र जीवनशैलीबारे यहाँ चर्चा गरिएको छ ।
१. विषादीयुक्त खाद्यवस्तुको बढ्दो उपभोग
पछिल्लो समय अधिक विषादीयुक्त खाद्यवस्तुको प्रयोग नियन्त्रण विश्व समुदायकै लागि चुनौतीको विषय बनेको छ । लामो समयसम्म विषादीयुक्त खानेकुराको उपभोगले विभिन्न प्राणघातक रोग निम्त्याउने भएकाले विकसित मुलुकले अग्र्यानिक कृषि उत्पादनमा जोड दिन थालेका छन् । तर नेपालमा जैविक कृषि प्रणाली सुस्त अवस्थामा छ । नेपालमा दैनिक ठूलो परिमाणमा तरकारी तथा फलफूल आयात हुने गरेको छ, जसको विषादीको मात्रा परीक्षण समेत हुँदैन वा भए पनि नगन्य छ । आयातित कृषिउपज रेपिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विना नै भित्रिन्छन् । आरडीटीबाट पनि विषादीको मात्रा यकीन हुँदैन ।यसरी विशेषगरी भारतबाट आउने तरकारी तथा फलफूलमा विषादीको मात्रा परीक्षण नहुँदा हामीले उपभोग गरिरहेका ती वस्तुमा कति विषादी छ भन्ने थाहा हुँदैन । यस्तोमा हामी आफै सचेत हुनुबाहेक अन्य विकल्प देखिँदैन ।
ओर्गानोफस्फेट र कार्बमेट जस्ता रासायनिक वस्तु तथा विषादीले स्नायु प्रणालीमा प्रत्यक्ष÷अप्रत्यक्ष प्रभाव पार्ने विभिन्न अध्ययनले देखाएका छन् । यसको असरले टाउको दुख्ने, रिंगटा लाग्ने, वाकवाकी हुने, अस्वाभाविक पसिना आउने, झाडापखाला लाग्ने जस्ता समस्या देखापर्छन् । साथै मांसपेशी थर्कने, कम्पन हुने र अचेत हुने अवस्था समेत सृजना हुन सक्छ ।
२. बाहिर खाइने खाना
हामीले दैनिक खाने खाना, खाजा होस् वा कतै घुम्न वा घरबाट बाहिर गएको बेला होटल तथा रेस्टुराँमा खाइने खानामा कस्ता सामग्री प्रयोग गरिएको छ भन्ने कुराले पनि हामी कत्तिको स्वस्थ जीवनशैली अपनाइरहेका छौं भन्ने निर्भर हुन्छ । होटल तथा रेस्टुराँमा स्वाद बढाउने पदार्थको रूपमा मोनो सोडियम ग्लुटामेट (एमएसजी)कोे प्रयोग गरिन्छ । खासगरी एमएसजीको प्रयोग चाइनिज खाना, चाउचाउको मसला, पिज्जा, चिप्स, डिब्बामा राखिएका तरकारी, सूप तथा प्रशोधित मासुमा गरिएको पाइन्छ । एमएसजीको प्रयोग शुरू भएको ३० वर्षपछि विश्वभर टाइप टु डाइबिटिजका बिरामीको संख्या ३० गुणा बढेको तथ्य सार्वजनिक भएको थियो । यसरी नै यसको प्रयोग गरिएको खाना नियमित उपभोगले छाती दुख्ने, वाकवाकी लाग्ने, रिँगटा लाग्ने, मुख सुन्निने जस्ता समस्या उत्पन्न हुने केही अनुसन्धानले देखाएका छन् । यति मात्र होइन, बाहिरका खानामा प्रयोग गरिने अन्य मरमसला पनि स्वस्थकर छ/छैन भन्ने यकीन गर्न सकिँदैन । नेपालको सन्दर्भमा त झन् यो ठूलो समस्याको रूपमा रहेको छ । त्यसैले बाहिर होटल तथा रेस्टुराँमा खाना वा खाजा खाँदा कस्तो सामग्री प्रयोग गरिएको छ, आफूले स्वास्थ्यवर्धक खाना खाइरहेको छु / छैन विचार पुर्याउनुपर्ने हुन्छ ।
३. तारेका खानेकुरा
विषादीयुक्त खानेकुराजत्तिकै हानिकारक मानिन्छ तारेका खानेकुरा । कुनै पनि चिजलाई तेल वा कुनै चिल्लो पदार्थमा तार्दा त्यो खानेकुराको रंग बदलिएर रातो हुँदासम्म त्यसमा रासायनिक परिवर्तन हुन्छन् । जसले खानेकुराको असली तत्वहरू नष्ट गरिदिन्छ । तेलको मात्रा बढी भयो भने पनि हाम्रो मुटुलाई असर गर्छ ।
नेपालमा प्रायः साना होटल तथा रेस्टुराँ, ठेला पसलहरूमा खानेकुरा तयार पार्दा एउटै तेल पटक पटक प्रयोग गरिएको पाइन्छ । तर एक पटक प्रयोग गरिसकेको तेल पुनः प्रयोग गर्दा त्यसमा तारेको खानेकुरा हानिकारक हुन्छ । यस्तो तेलमा फ्री रेडिकल्स उत्पन्न हुन्छ । फ्री रेडिकल्स शरीरका स्वस्थ कोशिकासँग सजिलै घुलमिल हुन्छ । यसले कोशिका मर्न सक्छन् । फ्री रेडिकल्सका कारण क्यान्सर समेत उत्पन्न हुन सक्छ । साथै पुनः प्रयोग गरिएको तेलले शरीरमा नराम्रो कोलेस्ट्रोल बढाउँछ र नसाहरु बन्द हुन सक्छन् । बारम्बार प्रयोग गरिएको तेलका कारण एसिडिटी, मुटुसम्बन्धी रोग, अल्जाइमर्ज डिजिज, पार्किन्सन जस्ता समस्या ल्याउन सक्ने अध्ययनले देखाएका छन् ।
४. शारीरिक क्रियाकलापको कमी
पर्याप्त शारीरिक क्रियाकलाप स्वस्थ जीवनशैलीका लागि महत्वपूर्ण हुन्छ । हामी दैनिक कति समय हिँड्छौं, दौडिन्छांै, व्यायाम गर्छौं भन्ने कुराले पनि हाम्रो शारीरिक स्वास्थ्य निर्धारण गर्छ । राति अबेरसम्म जागा बस्ने र बिहान ढिलोसम्म सुत्ने हामीमध्ये धेरैको बानी हुन्छ । तर स्वस्थ जीवनका लागि यो राम्रो मानिँदैन । शारीरिक स्वास्थ्य कामय राख्न पर्याप्त शारीरिक गतिविधि हुनुपर्ने स्वास्थ्यविद् बताउँछन् । नियमित व्यायाम, योगासन, हिँड्डुल नगर्दा मोटोपना बढ्ने, अल्छी लाग्ने, शरीर भारी हुने जस्ता समस्या उत्पन्न हुन्छ ।
५. चिनीको अधिक प्रयोग
चिया, कफी र चकलेट र चिनीयुक्त मिठाइका पारखी धेरै हुन्छन् । तर चिनी र चिनीजन्य पदार्थ स्वास्थ्यका लागि हानिकारक हुन्छ । विगत पाँच वर्षमा भएका सबै अनुसन्धानको सार के हो भने दैनिक १५० ग्रामभन्दा बढी फ्रुक्टोज (एक प्रकारको चिनी) खाँदा इन्सुलिन नामक हर्मोनको प्रभाव कम हुन थाल्छ, जसकारण रक्तचाप र कोलेस्टेरोल जस्ता समस्या बढ्न सक्छ । चिनीमा पाइने फ्रुक्टोजले हृदय रोग निम्त्याउन सक्ने बताइन्छ । किनकि यसले ट्राइग्लिसराइड नामक रसायन उत्पादन गर्छ । यो एक प्रकारको बोसो हो, जुन हाम्रो कलेजोका कोशिकाहरू हुँदै रक्त नलीहरूमा पुग्छ । यसले रक्त नलीहरू अवरुद्ध गर्न सक्छ ।
६. चिसो पेयपदार्थ/अल्कोहल
बजारमा पाइने चिसो पेय पदार्थहरुमा हाम्रो शरीरलाई हानि गर्ने चिनी, कार्बन र रङहरु जस्ता तत्वहरु हुन्छन् । चिनीबाट बनेका यस्ता पेय पदार्थको प्रयोगले अमेरिकामा मोटोपना बढेको अनुसन्धानकर्ता बताउँछन् । साथै हामीले दैनिक सेवन गर्ने चिया वा कफीमा पनि यस्ता रसायन हुन्छन् । चिया/कफी धेरै पिउनाले पनि कोलेस्ट्रोल, अनिन्द्रा, मोटोपना जस्ता समस्या निम्त्याउन सक्छन् ।
यस्तै अल्कोहोलिक पेय पदार्थको अत्यधिक सेवनले हार्टअट्याक, उच्च रक्तचाप जस्ता समस्या आउन सक्छ । अल्कोहलले मस्तिष्कको सञ्चार प्रणालीमा प्रभाव पार्छ । यसले मस्तिष्कले काम गर्ने तरीकालाई असर पार्न सक्छ । लामो समयसम्म धेरै अल्कोल पिउनाले वा एकैपटक धेरै पिउनाले मुटुलाई पनि हानि पुर्याउन सक्छ । यसले मुटुको अनियमित धड्कन, उच्च रक्तचाप जस्ता समस्या सृजना गर्न सक्छ । अत्यधिक मदिराले कलेजोमा असर गर्छ र स्टेटोसिस, अल्कोहल हेपाटाइटिस सिरोसिस र कलेजो सुन्निने जस्ता समस्या ल्याउन सक्छ । साथै यसको सेवनले प्यान्क्रियाटाइटिस हुन सक्छ, जसले उचित पाचनका लागि इन्जाइम र हर्मोन बनाउने क्षमता कमजोर बनाउँछ । साथै मदिरा सेवनले विभिन्न प्रकारका क्यान्सर निम्त्याउन सक्ने र मदिराजन्य पेयपदार्थ धेरै पिउनाले प्रतिरक्षा प्रणाली कमजोर हुन सक्ने नेशनल क्यान्सर इन्स्टिच्युटको अनुसन्धानले बताएको छ ।
७. मैदा
गहुँबाट बनेको त हो नि भन्ने सोचेर निर्धक्कसँग हामीले भान्छामा प्रयोग गर्ने मैदा सोचेजस्तो पोषिलो हुँदैन । यसका बेफाइदा धेरै छन् । मैदा बनाउन गहुँलाई धेरैपटक पिसिन्छ, जसको क्रममा यसमा पाइने पोषणतत्व नष्ट हुन्छन् । मैदाजन्य खाद्यपदार्थको सेवनले मोटोपना, उच्च रक्तचाप, स्ट्रोक, हृदयाघात लगायत समस्या निम्तिन सक्छ । मैदामा रेसादार पदार्थ नहुने हुँदा यसको नियमित सेवनले कब्जियत हुने, मोटोपन बढ्ने, यसमा हुने हाई ग्लाइसेमिक इन्डेक्सले मुटुसम्बन्धी रोग लाग्ने सम्भावना हुने स्वास्थ्यविद्हरु बताउँछन् । मैदा बनाउँदा प्रोटिनको मात्रा घट्ने भएकाले एसिडको मात्रा बढी हुन्छ, जसले गर्दा शरीरका हड्डी कमजोर हुन्छन् ।
८. विद्युतीय सामग्रीको अधिक प्रयोग
हामीले दैनिक प्रयोग गर्ने विद्युतीय उपकरणहरु, जस्तै– मोबाइल, कम्प्युटर, आइ–प्याड लगायतको अधिक प्रयोगले पनि स्वास्थ्यमा धेरै असर पुर्याइरहेको हुन्छ । हामी मनोरञ्जन लिन वा कामकै प्रयोजनले पनि यस्ता उपकरण आवश्यकताभन्दा बढी चलाउँछौं । तर यसको अधिक प्रयोगले स्वास्थ्यमा असर पार्छ भन्ने कुरा बेवास्ता गर्छौं । धेरै समयसम्म यस्ता उपकरण चलाउदा आँखा कमजोर हुने, निराशा उत्पन्न हुने जस्ता समस्या आउन सक्छ । यस्ता उपकरणबाट निस्किने विकिरणले हाम्रो मस्तिष्कमा नकारात्मक असर पारिरहेको हुन्छ । मोबाइल फोनबाट निस्किएको रेडियो फ्रिक्वेन्सी (आरएफ) विकिरणले अनुहारको वरिपरि र केही हदसम्म दिमागका तन्तुहरूलाई तताउने र क्षति पु¥याउन सक्ने केही अध्ययनमा पाइएका छन् । सन् २०११ मा विश्व स्वास्थ्य संगठनले आरएफ विकिरण क्यान्सरको कारक हुन सक्ने सम्भावना रहेको बताएको थियो । यद्यपि यो पूर्ण रूपमा पुष्टि भने भइसकेको छैन ।