सुनिता सुवेदी
काठमाडौं, १९ असार । शैक्षिक सत्र २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा गत हप्ता सार्वजनिक भयो । एसईई परीक्षाको नतिजापछि नेपालको शैक्षिक तथा परीक्षा प्रणालीमै प्रश्न उठेको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार यस वर्ष आधाभन्दा बढी विद्यार्थी अनुत्तीर्ण (ननग्रडेड) भए । तर विद्यार्थीको नतिजा यसअघिका वर्षमा पनि राम्रो भने थिएन । केही वर्षयता एसईईमा उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या ५० प्रतिशत पनि पुग्न सकेको छैन ।
बोर्डका अनुसार यस वर्षको एसइइमा ४ लाख ६४ हजार ७८५ विद्यार्थी सहभागी थिए । जसमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण भए भने ५२.१४ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भए ।
पछिल्लो समय एसईईको नतिजा खस्किँदै गएकोमा शिक्षाविद्हरू पनि चिन्तित छन् । शिक्षाविद् डा. विष्णु कार्कीले एसईईमा आएर विद्यार्थी अनुत्तीर्ण हुनुले कक्षा १ देखि नै पढाइको स्तर खस्किँदै गएको स्पष्ट हुने बताए ।
कार्कीले लामो समयसम्म पनि विद्यार्थीको नतिजामा सुधार नहुनुमा शिक्षा प्रणाली र शिक्षण सिकाइप्रति नै प्रश्न उठाए । ‘कोभिडको कारण नेपालमा लामो समयसम्म पढाइ हुन सकेन । त्यस्तै प्राकृतिक प्रकोपको कारण पढाइ निरन्तर हुन नसकेकाले पनि विद्यार्थीकोे नतिजा खस्किएको भन्न सकिएला ? तर सधैं नै यस्तो हुन्छ र ? कुनै वर्ष बाढी पहिरो आयो होला, तर सधैं यस्तो भइरहन्छ र ? यस्ता कारणलाई दोष देखाएर शिक्षाका जिम्मेवार निकायले पन्छिन मिल्दैन ।’
१० वर्ष अगाडि अर्थात् कक्षा १ मा १० लाखको हाराहारीमा विद्यार्थी भर्ना हुन्छन् । तर कक्षा १० अर्थात् एसईईमा आइपुग्दा ५ लाख मात्र विद्यार्थी बाँकी रहन्छन् । त्यसमध्ये पनि उत्तीर्ण हुने विद्यार्थीको संख्या हेर्दा निराशाजनक देखिन्छ । एसईई दिएका आधा पनि विद्यार्थी उत्तीर्ण नहुनु शिक्षाविद्हरूले भनेजस्तै समग्र शिक्षा प्रणालीकै असफलता हो । शिक्षामा राज्यले गरेको लगानी अनुरूप उपलब्धि हासिल हुन नसकेको सरोकारवाला बताउँछन् ।
देशलाई शिक्षामा कहाँ पुर्याउने हो, त्यसका लागि कस्तो शिक्षा प्रणाली अवलम्बन गर्ने, कसरी शिक्षण सिकाइलाई प्रभावकारी बनाउने र विश्व बजारमा प्रतिस्पर्धी जनशक्ति कसरी उत्पादन गर्ने भन्ने स्पष्ट नीति नलिए अवस्था गम्भीर हुने विज्ञहरूको बुझाइ छ । त्यसका लागि बेलैमा नीति, रणनीति, योजना र कार्यक्रम तयार गरी प्रभावकारी कार्यान्वयनमा लैजानुपर्नेमा उनीहरू जोड दिन्छन् ।
शिक्षाविद् कार्कीले अहिलेको शिक्षा प्रणालीले विद्यार्थीको आवश्यकता, बजारको माग, सिकाइको स्तर तथा गुणस्तरलाई सम्बोधन गर्न नसक्ने बताए । अहिलेको शिक्षा प्रणालीको औचित्यमाथि शंका गर्दै उनले भने, ‘लामो समयदेखि एसएलसी वा एसईईको नतिजा ५० प्रतिशत नाघेको अवस्था छैन । किन यस्तो भइरहन्छ भनेर हामीले जवाफ खोज्नुपर्छ ।’
अहिलेको शिक्षा तथा परीक्षा प्रणालीबाट प्राप्त यो नतिजाप्रति सरोकारवालाहरु जवाफदेही हुनुपर्ने उनले औंल्याए । यसमा सरकार, मन्त्रालय, शिक्षक, विज्ञ, अभिभावक, विद्यार्थीलगायत सबै उत्तिकै जिम्मेवार रहेको उनले बताए ।
‘मुख्यतः विद्यमान शैक्षिक प्रणालीमै सुधारको खाँचो देखियो । यसले अहिले काम गरिरहेको छैन, भोलिका दिनमा त झनै बेकामे बन्न सक्छ । अहिले प्राप्त शैक्षिक नतिजा र उपलब्धिको न्यूनताले हामी नयाँ प्रणालीको शिक्षा शुरू गर्न सही समयमा छौं, यसका लागि चिन्तन गरौं, मनन गरौं,’ कार्कीले भने ।