एसइइपछिको शिक्षा : कुन विषय र कस्तो कलेज छान्ने ?

अनलाइनसमय |
१९ असार २०८१
एसइइपछिको शिक्षा : कुन विषय र कस्तो कलेज छान्ने ?

अस्मिता सापकोटा

काठमाडौं, १८ असार । गत सातामात्र राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइइ)को नतिजा प्रकाशित भयो । एसइइपछि उत्तीर्ण विद्यार्थीहरु ११ को लागि कलेज र विषय छान्ने तयारीमा छन् । कतिपय कलेजहरुमा त भर्ना समेत खुलिसक्यो । यस्तोमा कलेज तथा विषय छनोट विद्यार्थीको लागि अन्योलको विषय हुन सक्छ । भविष्य निर्माणको मुख्य आधार भएकाले पढाइको विषय र शिक्षण संस्था छनोट गर्नुअघि विभिन्न पक्षमा ध्यान दिनुपर्छ । यसका लागि मुख्यतः आफ्नो रुचि, खुबी र लक्ष्यलाई प्राथमिकतामा राखेर निर्णय लिनुपर्ने विज्ञको सुझाव छ ।

‘पढ्ने विषय छान्दा सर्वप्रथम आफ्नो मनलाई सोध्नुपर्छ, बुझ्नुपर्छ, ‘विषय छनोट गर्नु भनेको आफ्नो रुचि, चाहना र योग्यताको पहिचान गर्नु हो, यसरी छनोट गरिएको विषयको अध्ययन मात्र प्रभावकारी हुन सक्छ,’ शिक्षाविद् डा. विष्णु कार्की भन्छन्, ‘आफ्नो रुचि स्पष्ट भइसकेपछि विषय छान्न सजिलो हुन्छ, त्यही अनुसार उपयुक्त कलेज पनि छनोट गर्न सकिन्छ ।’

पढाइपछि रोजगारी वा कामको प्रत्याभूति अनिवार्य शर्त नै मानिन्छ । अतः कक्षा ११ मा अध्ययनको विषय छनोट गर्दा उक्त विषय पढिसकेपछि राष्ट्रिय, अन्तरराष्ट्रिय स्तरमा रोजगारीको अवसर कस्तो छ, श्रम बजार कस्तो छ र विषय अन्तरराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने छ÷छैन भन्ने जस्ता पक्षमा ध्यान पु¥याउनुपर्ने सरोकारवालाको सुझाव छ । साथै पढाइको शुल्क आफ्नो आर्थिक क्षमताले धान्न सक्छ, सक्दैन भन्नेमा पनि ध्यान दिनुपर्ने हुन्छ ।

पिनाकल कलेजका प्राचार्य डा. ऋषि तिवारी भन्छन्, ‘आफूले चाहेको विषय पढ्नु राम्रो हो । तर त्यो विषय पढिसकेपछि रोजगारी, श्रम वा उद्यमशीलताको अवसर, सम्भावना र माग कस्तो छ भन्ने पनि बुझ्नुपर्छ । पढाइपछि काम वा उद्यम व्यवसायको अवसर बढी भएका विषय छनोट गर्नु महत्वपूर्ण कुरा हो । विद्यार्थीले यस्ता विषयमा ध्यान दिनैपर्छ ।’

उक्त भनाइमा माइलस्टोन कलेजका प्राचार्य नारायण बानियाँ पनि सहमत छन् । उनी भन्छन्, ‘अहिले राष्ट्रिय र विश्व बजारमा कस्तो खालको मानव संसाधनको माग छ, कस्ता विषय पढ्नेलाई रोजगारीका अवसर बढी प्राप्त हुन्छ भन्ने बुझ्नु पनि कक्षा ११ मा पढ्ने विषय छनोटको प्रमुख आधार हो ।’

विज्ञ र सरोकारवालाको सुझावको निष्कर्ष कुनै पनि विषय छनोट गर्दा मुख्यतः विद्यार्थीले आफ्नो रुचि, खुबी, लगाव र उक्त विषयको पढाइपछि उपलब्ध वा सम्भाव्य अवसरलाई उच्चतम प्राथमिकता दिनु रहेको छ ।

यसैगरी अध्ययनको विषय छनोट गर्नु जत्तिकै महत्वपूर्ण हुन्छ आफूले पढ्ने शिक्षण संस्थाको छनोट । पिनाकल कलेजका प्राचार्य तिवारी विद्यार्थीहरुले कलेज छान्दा मुख्यतः कलेजको विगतका शैक्षिक नतिजा, कलेज सञ्चालनको निरन्तरता, सञ्चालक समूह, कलेजका शिक्षक, शैक्षिक वातावरण, शैक्षिक तथा भौतिक पूर्वाधार, समाजले कलेजलाई हेर्ने दृष्टिकोण र कलेजको शुल्क जस्ता महत्वपूर्ण विषयमा ध्यान दिन सुझाउँछन् । ‘यसका लागि पूर्व विद्यार्थी, आफ्ना साथी वा अग्रजहरूबाट पनि सल्लाह सुझाव लिन सकिन्छ,’ उनी भन्छन्, ‘कलेजकै वेबसाइट, सामाजिक सञ्जाल जस्ता माध्यमबाट पनि धेरै जानकारी लिन सकिन्छ । यसमा विद्यार्थी स्वयं नै सजग र सचेत हुनुपर्छ ।’

शैक्षिक सत्र २०८० मा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थीले एसइइ दिएका थिए । जसमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण भएका छन् भने ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । ननग्रेडेड सबै विद्यार्थीेले मौका परीक्षा दिन पाउने भएका छन् । नेपालमा कक्षा ११–१२ पढाउने शिक्षण संस्था ४ हजार ८ सय ४४ ओटा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस