अस्मिता सापकोटा
काठमाडौं, १६ असार । कुनै पनि उद्यम व्यवसाय शुरू गर्नुअघि धेरैलाई पूँजी वा वित्तीय स्रोतको व्यवस्था कसरी गर्ने भन्ने चुनौतीकै रूपमा देखिन्छ । आफूले गर्न लागेको व्यवसायको बजार सम्भावना, जनशक्ति, पूर्वाधार लगायत आवश्यक प्रबन्ध भइसक्दा समेत लगानी नजुट्दा कतिपयले व्यवसाय शुरू गर्नै सक्दैनन् ।
पूँजी वा लगानी जुन कुनै उद्यम व्यवसायका लागि अनिवार्य शर्त हो । तर व्यवसायको प्रकृतिअनुसार यसको परिमाण भने फरक पर्न सक्छ । सानै पूँजीबाट पनि काम शुरू गर्न सकिन्छ भन्नेबारे थाहा नहुँदा भने धेरैले व्यावसायिक सोचलाई साकार पार्न सकिरहेका हुँदैनन् । हो, पर्याप्त अध्ययन, अनुसन्धान गर्ने र व्यावसायिक परामर्शदाताको सहयोग लिने हो भने सानै पूँजीबाट शुरू गर्न सकिने धेरै पेशा, व्यवसायबारे थाहा पाउन सकिन्छ । थोरै लगानीमा शुरू गरेर व्यवसाय विस्तार गर्दै लगेका र सफल भएका उदाहरण हाम्रै वरपर पनि धेरै देख्न सकिन्छ । नेपाली परिवेशमा समेत अनुकूल मानिने केही उद्यम व्यवसाय, जुन शुरू गर्न धेरै ठूलो लगानी आवश्यक पर्दैन, त्यसबारे यहाँ चर्चा गरिएको छ ।
१. अचार उत्पादन
नेपालमा पछिल्लो समय विभिन्न नाम र ब्रान्डका अचारको खपत बढेको मात्र छैनन्, नेपाली समुदाय भएका मुलुकमा निर्यात समेत बढिरहेको छ । यो यस्तो व्यवसाय हो, जसका लागि धेरै ठूलो पूँजीको खाँचो पर्दैन । यो व्यवसायमा विशेषगरी गृहिणी महिलाको आकर्षणको बढी पाइन्छ । तुलनात्मक रूपमा कम लगानी र कम मेहनतमा शुरू गरेर राम्रो मुनाफा लिन सकिने व्यवसायको रूपमा अचार उत्पादन तथा विक्रीवितरण रहेको छ । बजारको उचित अध्ययन, मूल्यांकन गरेर, उपभोक्ताको रुचि र मागलाई बुझेर, विभिन्न स्वाद र आकर्षक सजावटमा यस्ता उत्पादन ल्याउन सके बजारको अभाव नहुने यसमा लागेका उद्यमीहरू बताउँछन् । शहर बजारमा यस्ता उत्पादन बढी विक्री हुने गरेको छ । शुरुआती अवस्थामा सामाजिक सञ्जाल, सञ्चार माध्यम लगायत माध्यमबाट यस्ता उत्पादनको बजारीकरण गर्न सकिन्छ ।
२. हस्तकला
नेपालमा हस्तकलाको इतिहास धेरै लामो छ । नेपालमा पाँचांै शताब्दीतिरबाटै हस्तकलाको विकास भएको पाइन्छ । २०–३० वर्ष अघिसम्म यसको व्यापार व्यवसाय नेपालमा मात्रै सीमित थियो । तर अहिले त्यो अवस्था छैन । पछिल्लो समय त झन् नेपाली हस्तकलाका पारखी देशविदेश सबैतिर फैलिएका छन् । नेपालमा बनेका प्रायः हस्तकलाका सामग्री निर्यात हुने गरेको छ । धेरै व्यवसायीले अँगालेको यो पेशा अझै धेरै सम्भावना बोकेको पेशा हो । हस्तकला व्यवसाय थोरै लागतमा शुरू गर्न सकिने व्यवसाय हो । यदि तपाईंसँग हस्तकलासँग सम्बन्धित उनी तथा फेल्टका उत्पादन, नेपाली कागजका खाम, ग्रिटिङ कार्ड, हेम्प (गाँजाको रेसा)का ब्याग, अन्य रेसाजन्य सामग्री, बाँस, पराल, छ्वालीका सजावटका सामग्री लगायत विभिन्न वस्तु बनाउने शीप, क्षमता छ भने आफैले उद्यम शुरू गर्न सक्नुहुन्छ । यस्ता सामग्री बनाउनै शीप, तालीम सिक्न समेत पाइन्छ ।
३. मौरीपालन
मौरीपालन कम लगानीमा शुरू गर्न सकिने अर्को व्यवसाय हो । नेपाल जस्तो कृषिप्रधान देशमा मौरीपालनको सम्भावना धेरै छ । केही समयको तालीम लिएर थोरै घारबाटै यो व्यवसाय गर्न सकिन्छ । मौरीपालनबाट मुख्यतः दुई तरिकाले आम्दानी गर्न सकिन्छ ः उत्पादित मह र घार बेचेर । यो व्यवसाय शुरू गरेर मह मात्र बेच्ने उद्देश्यले घारहरू विस्तार गर्न सकिन्छ भने अन्य उद्यमीलाई मौरीसहितको घार बचेर पनि राम्रो आय गर्न सकिन्छ । त्यसबाहेक ‘बी पोलेन’, मैनको कच्चापदार्थ आदि विक्री गरेर पनि थप आम्दानी गर्न सकिन्छ ।
४. ई–कमर्स/ अनलाइन डेलिभरी
पछिल्लो समय नेपालमा फस्टाइरहेको व्यवसाय हो ई–कमर्स । हाल केही कम्पनीले इ–कमर्स सेवा शुरू गरिसकेको भए तापनि यसको बजार सम्भाना धेरै छ । मानिसहरु अचेल समय व्यस्तताको कारण होस् वा सजिलोका लागि आफूलाई आवश्यक पर्ने सामान अनलाइनबाट मगाउँछन् । अनलाइन डेलिभरी दिने वस्तुमा खानादेखि लत्ताकपडासम्म रहेका छन् । उदाहरणका लागि दराज अहिले निकै चलेको इ–कमर्स माध्यम हो भने फुडमाण्डु लोकप्रिय अनलाइन डेलिभरी साइट हो । कम लगानीमै शुरू गर्न सकिने यो व्यवसाय ग्राहक सन्तुष्टिलाई ध्यान दिन दिएर विश्वसनीय सेवा प्रवाह गरेमा छिट्टै फस्टाउन सक्छ ।
५. चकलेट उत्पादन
चकलेट उत्पादन नेपालमा सम्भावना बोकेको व्यवसाय हो । केही टफीबाहेक, राम्रो ब्रान्डिङ भएमा चकलेट नेपालमा बनेका छैनन् । कच्चा चकलेटलाई विभिन्न फ्लेबर, स्तरीय प्याकेजिङ र ब्रान्डमा बजारीकरण गर्न सके यसबाट राम्रो मुनाफा लिन सकिन्छ । अहिले बजारमा नेपाली चकलेटका ब्रान्डले राम्रो प्रतिक्रियासहित व्यापार बढाइरहेका छन् । कतिपय ब्रान्ड निर्यात समेत हुन थालेका छन् । व्यापार बढ्दै जाँदा लगानी बढाउन सकिने चकलेट उत्पादन थोरै लगानीमा व्यवसाय शुरू गर्न चाहनेका लागि उपयुक्त व्यवसाय हुन सक्छ ।
६. मार्केटिङ एजेन्सी
नेपालमा अहिले स्टार्टअप व्यवसाय बढ्दै गएका छन्, जसका लागि मार्केटिङ अत्यावश्यक छ । अझ अनलाइन मार्केटिङ झनै आवश्यक छ । नेपालमा अहिले प्रायः कम्पनी आफैँले मार्केटिङ गरिरहेको पाइन्छ । मार्केटिङकै लागि मात्र भनेर खोलिएका कम्पनी थोरै मात्र छन् । बजारीकरणविना कुनै पनि व्यवसायको विकास, विस्तार सम्भव नभएकाले मार्केटिङ एजेन्सी व्यवसायको राम्रो सम्भावना छ । मार्केटिङको अनुभव भएका मानिसका लागि डिजिटल मार्केटिङ एजेन्सी छोटो समयमा राम्रो आम्दानी गर्न सक्ने व्यवसाय हो । मार्केटिङमा अनुभव नभएका, तर यस क्षेत्रमा रुचि राख्ने र सिक्न चाहनेका लागि पनि यससम्बन्धी अनलाइन सामाग्री पनि प्रशस्त पाइन्छन् ।
७. ब्युटी सलोन
अहिलेको समयमा मेकअप, हेयर स्टाइलिङमा रुचि राख्ने र फेशनको दुनियाँमा आकर्षितका लागि राम्रो व्यवसाय बन्न सक्छ ब्युटी सलोन । अन्नप्राशनदेखि विवाह, व्रतबन्ध लगायत शुभ अवसरमा मेकअप आर्टिस्ट आवश्यकता पर्छ । मेकअपका पनि धेरै प्रकार छन्– अफिस मेकअप, पार्टीवेयर मेकअप, ब्राइडल मेकअप । यसको अर्थ मेकअप तथा मेकअप आर्टिस्टको माग बढ्दो छ । मेकअप र हेयर स्टाइलिङमा रुचि हुनेले तालीम लिएर थोरै लगानीमा पनि ब्युटी सलोन खोल्न सक्छन् ।
८. बेकरी व्यवसाय
केक, कुकिज लगायत खानेकुरा बनाउन मन पराउनेहरुको लागि बेकरी व्यवसाय थोरै लागतमा शुरू गर्न सकिने र छोटो समयमा सजिलै लागत उठाएर आम्दानी लिन सकिने व्यवसाय हुन सक्छ । बेकरी व्यवसाय शुरू गर्न महँगो भाडा तिरेर पसल भाडामा लिनु वा कर्मचारी राख्नु पनि आवश्यक पर्दैन । सीमित स्रोतसाधन प्रयोग गरेर, आफँैले यो व्यवसाय शुरू गर्न सकिन्छ । एउटा आकर्षक मेनु, बेकरीको लागि चाहिने केही सामान भए यो व्यवसाय शुरू गर्न सकिन्छ । यो व्यवसायको प्रवद्र्धनका लागि सामाजिक सञ्जा, सञ्चारमाध्यम आदिको प्रयोग गर्न सकिन्छ ।
९. थ्रिफ्ट स्टोर
थ्रिफ्ट स्टोर पुराना तर पुनः प्रयोग गर्न मिल्ने सामानहरू लत्ताकपडा वा अन्य वस्तु विक्री गर्ने उद्देश्यले खोलिएको पसल हो । सो व्यवसाय संचालन गर्न खासै ठूलो पुँजी पनि लाग्दैन । अहिलेको समयमा यस्तो व्यवसाय सफल पनि भरहेको देखिन्छ । यद्यपि नेपालमा यस्ता स्टोर कमै छन् । जति छन्, ती पनि काठका सामग्री, पुस्तक र फेशनेबल लत्ताकपडाका मात्र छन् । यसको बजार बुझेर पायक पर्ने स्थानबाट उपभोक्ताको माग अनुसार थ्रिफ्टेड सामान व्यापार गर्न सके उचित मुनाफा लिन सकिन्छ ।