• Featured Slider, ताजा समाचार

    उमेरले ४० कटेपछि सफल भएका ७ उद्यमीहरु

     133 Views
    उमेरले ४० कटेपछि सफल भएका ७ उद्यमीहरु

    अस्मिता सापकोटा

    काठमान्डौ, ११ असार । धैरैलाई लाग्छ, ४० वर्ष कट्नु भनेको जीवनको उत्तरार्धमा लाग्नु हो । धैरैका लागि ४० कटेपछि कुनै उद्यम सुरु गर्नु र सफल हुनु कल्पना बाहिरको कुरा हो । यो उमेरमा हुँदाखादाको जागिर छाडेर, आफ्नो शौख पूरा गर्न ठूलै जोखिम लिन जो कोही तयार हुन सक्दैनन् । तर संसारमा केही मानिस यस्ता छन्, जो आफू जागिर खाने होइन, अरुलाई जागिर दिने सपना देख्छन् ।
    वास्तवमा कुनै पनि उद्यम व्यवसाय सुरु गर्न उमेर हदले रोक्दैन । इच्छाशक्ति, आँट र अठोट भयो भने मानिस जुनसुकै समयमा सफल उद्यमी बन्न सक्छ भन्ने उदाहरण हाम्रा सामु धेरै छन् । प्रतिष्ठित कम्पनीको जागिर छाडेर ठूलो जोखिम उठाएर जिन्दगीको आधा उमेर कटिसकेपछि सफल बनेका र संसारभर नाम कमाएका उद्यमीहरुमध्ये हामीले यहाँ ७ जना उद्यमीको बारेमा छोटकरीमा चर्चा गरेका छौं ।

    १. रोबर्ट नोयस

    विज्ञान र प्रविधिको दुनियाँमा चिरपरिचित नाम हो रोबर्ट नोयस । बाल्यकालदेखि नै नयाँनयाँ कुरामा रुचि राख्ने र चुस्त दिमाग भएका नोयसले १२ वर्षको उमेरमै आफ्नो भाइसँग मिलेर सानो आकारको विमान बनाएका थिए । उनीहरु त्यसलाई आफ्नो विद्यालयको छतबाट उडाउँथे ।
    सन् १९५३ मा एमआईटीबाट भौतिकशास्त्रमा डक्टरेट गरेपछि नोयस फिलाडेल्फियाको, फिलाको कर्पोरेशनमा रिसर्च इन्जिनियरको रुपमा काम गर्न थाले । केही समय काम गरेपछि त्यहाँ छाडेर उनी विलियम शोकेलीसंग सहकार्य गर्न थाले । तर त्यो सहकार्य १ वर्ष भन्दा बढी टिक्न सकेन । त्यसपछि उनी एक्लै आफ्नो काममा जुटे, १९५९ मा नोयसले मोनोथेलिक इन्टेग्रेटेड सर्किट बनाए । यतिबेला उनी ४१ वर्षका थिए । यो चिप सिलिकनले बनेको थियो, जसको कारण अरुभन्दा टिकाउ र भरपर्दो मानिन्थ्यो । नोयसले १९६८ मा गोर्डनसंगको सहकार्यमा इन्टेलको आविष्कार गरे, जुन उनको जीवनकालको सबै भन्दा ठुलो उपलब्धि मानिन्छ । विज्ञान र प्रविधिमा ठूलो योगदान दिएबापत उनले थुप्रै अवार्ड तथा सम्मानहरु पाएका छन् ।
    नोयस हेमिंगवेका पुस्तकहरु पढ्न रुचाउथे । उनी ह्यांग ग्लाइडिङ्ग र स्कुबा डाइभिङ्गका पनि शौखिन थिए । नोयस सबैमाझ आत्मीय थिए । उनी आफ्ना कर्मचारीहरूलाई आफ्नो परिवारको रूपमा व्यवहार गर्थे । उनले धेरै माइक्रोप्रोसेसरहरू बनाए जुन अझै पनि कम्प्युटरमा प्रयोग गरिन्छ । उनी धेरैमाझ ‘सिलिकन भ्यालीको मेयर’ भनेर चिनिन्छन् ।

    २. रीड होफम्यान


    के तपाईंलाइ थाहा छ ? हामीले सधैं प्रयोग गर्ने सामाजिक संजालको आविष्कार कसले गरेका हुन् ? तपाईं यसका आविष्कारकको जीवनबारे जान्न उत्सुक हुनुहुन्छ ? आउनुहोस्, आज एकै छिन LinkedIn का आविष्कारक रीड होफम्यानबारे चर्चा गरौं ।
    रीड होफम्यान पहिलो व्यापार सम्बन्धी सामाजिक संजाल LinkedIn का आविष्कारक हुन् । होफम्यानले LinkedIn को आविष्कार गर्नुअघि पनि अन्य थुप्रै कम्पनीमा काम गरिसकेका थिए । उनले १९९४ मा एपल कम्प्युटरकोे इबोर्डमा काम गरे । त्यतिबेला एपल कम्प्युटर अनलाइन सेवा विस्तार गर्ने कोसिसमा थियो । एपल कम्प्युटरमा काम छाडेपछि उनले फुजिसुमा काम गरे । केही समयपछि त्यहाँ काम छाडेर उनले SocialNet.com भन्ने आफ्नै पहिलो कम्पनि खोले । पछि उनले यो कम्पनी पनि छाडे र पेपालमा काम गर्न थाले । पेपालमा काम गर्दागर्दै उनले आफ्ना केही साथीहरुसंग मिलेर २००२ मा LinkedIn को आविष्कार गरे । यति बेला उनी ३५ वर्षका थिए । तर यो उनी ४१ वर्षको भएपछि मात्र सार्वजनिक भयो ।
    होफम्यान आर्टिफिसियल इन्टेलिजेन्स रिसर्च कम्पनी ओपनएआईका संस्थापक लगानीकर्ता पनि थिए । मे २०२३ सम्ममा रीड होफम्यान र गे्रलक पार्टनरहरूले कम्तिमा ३७ एआइ कम्पनीहरूमा लगानी गरिसकेका छन् ।

    ३. क्यारोल गार्डनर


    कठिनाइ नै सफलताको स्रोत हो । जीवनमा असफलताले नै सफलताको बाटो तय गर्छ । सम्बन्ध विच्छेदबाट निराश भएको, ऋणमा चुर्लुम्म डुबेको र जागिर पनि नभएको अवस्थामा गार्डनरका लागि एउटा सफलताको बाटो खुल्यो । जसले ५३ वर्षको उमेरमा क्यारोल गार्डनरलाई Zelda Wisdom को मालिक बनायो ।
    ५२ वर्षको उमेरमा गार्डनरको पतिसंग सम्बन्ध विच्छेद भयो । सम्बन्ध विच्छेद पछि उनले चिकित्सकको सिफारिसमा एउटा कुकुर किनिन् । जसलाई Zelda नाम दिइन् । उनले उनले आफ्नो कुकुरको तस्वीर सार्वजनिक गरेर स्थानीय क्रिसमस कार्ड प्रतियोगिता जितिन् । यो जितले उनलाई यति धेरै प्रेरित ग¥यो कि उनले एक ग्रीटिंग कार्ड कम्पनी स्थापना गरिन् र आफ्नो कुकुर, जेल्डा विजडमको नाममा कम्पनीको नाम राखिन् । उनी अहिले धेरै मानिसका लागि प्रेरणाको स्रोत बनेकी छिन् ।

    ४. शेली गुडस्टेन


    एक सामान्य कामकाजी महिला इच्छाशक्ति र कडा परिश्रमको बलमा कसरि एक सफल उद्यमी बन्न सक्छन् भन्ने राम्रो उदाहरण हुन् शेली गुडस्टेन । गुडस्टेनले ९ वर्षसम्म औषधि पसलमा सेल्स गर्लको रुपमा काम गरिन् । यसबीचमा उनको सम्बन्ध विच्छेद भयो । उनी फोर्डमा मोडेल पनि थिइन् । ग्लामर तथा ब्युटीमा रुचि भएकी गुडस्टेनलाई आफ्नो सपना के हो म के गर्न चाहन्छु पहिलेदेखि नै प्रष्ट थियो । उनी एक सफल ब्युटी ब्राण्ड खोल्न चाहन्थिन्, तर उनको यो सपना उनी ४९ वर्ष पुगेपछि मात्र पूरा भयो । २०१३ को अन्तमा उनले हिडन क्राउन हेयर नामक कम्पनी स्थापना गरिन् । यस कम्पनीले नक्कली कपालको व्यापार गर्छ । उनले Model’s Secrets नामक ब्लग पनि सुरु गरेकी छिन् । यसको ७ मिलियन भन्दा बढी भ्यूज छ । उनी आफ्नो कम्पनीको सीईओ र संस्थापकको रूपमा रहँदा, उनले तीन बच्चाहरू हुर्काइरहेकी छिन् । उनले सबै महिलाहरूलाई यदि आफुलाई के गर्न मन पर्छ थाहा छ भने आफ्नो उमेरको बारेमा चिन्ता नगर्न सल्लाह दिन्छन् । उनी बोजी ब्युटी ब्रान्डको संथापक तथा ‘फेस दिस ः रियल याद भ्वाइस फ्रम रियल मोडल्स’को सर्जक पनि हुन् ।

    ५. ब्रेन्डा कासियो


    ब्रेन्डा कासियोसँग ललित कलाको डिग्री थियो तर पनि उनले जीवनभर छिटपुट रूपमा चित्र कोरिन् । उनको धेरै पेशागत समय पतिको सहयोग गर्नमा बित्यो । जब छोरीसंग मिलेर आफ्नै कम्पनी खोल्ने मौका पाइन् । त्यो मौका उनले गुम्न दिइनन् । कासियो लगभग ४० वर्षकी थिइन्, जब उनले छोरीसंग मिलेर कम्पनी जीबी डिजाइन हाउसको स्थापना गरिन् । यद्यपि उनी ५० वर्षकी हुँदा बल्ल व्यवसायले उचाइ लिन थाल्यो । स्टुडियोमा आकर्षक ढंगले विवाह गराउने उनको सोच थियो । जुन सफल भयो । उनको सोच र डिजाइनले लोकप्रियता कमायो ।

    ६. लिन्डा वेनम्यान

    वेनम्यानले १९७६ मा वाशिंगटनको एभरग्रीन स्टेट कलेजबाट मानविकीमा स्नातक गरिन् । स्नातक गरेको एक वर्ष पछि वेनम्यानले लसएन्जलसमा दुईवटा खुद्रा स्टोरहरू खोलिन् । जुन १९८२ मा बन्द भए ।
    वेनम्यानले म्यानुअल पढेर कम्प्युटर तथा अन्य डिजिटल सामग्रीहरु प्रयोग सम्बन्धी सीपहरू हासिल गरेकी थिइन् । वेनम्यानले १९८९ देखि १९९६ सम्म क्यालिफोर्नियाको आर्ट सेन्टर कलेज अफ डिजाइनमा डिजिटल मिडिया र मोसन ग्राफिक्स सिकाइन् । उनको १९९५ मा प्रकाशित डिजाइनिङ वेब ग्राफिक्स भन्ने पुस्तक, एक दृश्य डिजाइन परिप्रेक्ष्यबाट वेब अथोरिङ प्रविधिहरू छलफल गर्ने पहिलो पुस्तक हो ।

    ७. हाल्र्यान्ड डेभिड स्यान्डर्स


    जीवनको उत्तराद्र्धमा सफल हुने उद्यमीको सूची हाल्र्यान्ड डेभिड स्यान्डर्सको नामविना अपूर्ण हुनेछ । विश्वमा सर्वाधिक रुचाइएको केन्टुकी फ्राइड चिकेन (केएफसी)का उत्पादक स्यान्डर्सले सानै उमेरमा आफ्नो बुबा गुमाए र धेरै जागिरबाट पनि निकालिए ।

    स्यान्डर्सले आफ्नो प्रारम्भिक जीवनमा स्टीम इन्जिन स्टोकर, बीमा सेल्सम्यान र फिलिंग स्टेशन अपरेटर जस्ता धेरै कामहरू गरे । उनले चरम निरासाको समयमा केन्टकीको उत्तरी कोर्बिनमा रहेकोे सडक किनारको आफ्नो रेस्टुरेन्टबाट फ्राइड चिकन बेच्न थाले । कोर्बिनको सर्भिस स्टेसनमा काम गर्दागर्दै उनको कुखुराको रेसिपी प्रसिद्ध भयो । स्टेशन आगोले ध्वस्त भएपछि हाल्र्यान्ड डेभिड स्यान्डर्सले आफ्नो केन्टकी फ्राइड चिकेनलाई १९५२ मा पहिलो पटक फ्रेन्चाइज गरे । त्यतिबेला उनी ६२ वर्षका थिए । आज केएफसीका विश्वका विभिन्न ११८ देशहरूमा १८ हजार ८०० भन्दा बढी आउटलेटहरू छन् ।

    (एजेन्सीको सहयोग)मा

    यसमा तपाइको मत

    Facebook Comment