काठमाडौं, १० असार । मुलुककै पुरानो आर्थिक तथा औद्योगिक क्षेत्र विराटनगर, सुनसरी–मोरङ औद्योगिक कोरिडोर रहेको कोशी प्रदेशका उद्योगहरुको क्षमता उपयोगमा झीनो वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको कोशी प्रदेशको अर्ध–वार्षिक आर्थिक गतिविधि सम्बन्धी प्रतिवेदनका अनुसार चालू आर्थिक वर्ष २०८०-८१ को पहिलो ६ महिनामा कोशीका नमुना छनोटमा समेटिएका उद्योगहरुको औसत क्षमता उपयोग ४१.७ प्रतिशत रहेको छ, जुन गत आवको पुससम्मको तुलनामा ०.८ प्रतिशत विन्दुले बढी हो । आर्थिक वर्ष २०७९-८० को पुससम्ममा उक्त उद्योगहरुको औसत क्षमता उपयोग ४०.९ प्रतिशत थियो ।
प्रतिवेदनअनुसार चालू आवको ६ महिनामा कोशी प्रदेशमा उत्पादित वस्तु अनुसार चप्पल उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा बढी रहेको छ । यी उद्योगको क्षमता उपयोग ७८.८ प्रतिशत रहेको छ । सोही अवधिमा वनस्पती घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग भने सबैभन्दा कम ५.९ प्रतिशत रहेको छ ।
अर्धवार्षिक अवधिमा चप्पलको उत्पादन सबैभन्दा बढी ४९ प्रतिशतले बढेको छ भने घरेलु धातुका सामान उत्पादन सबैभन्दा बढी २२.७ प्रतिशतले घटेको छ ।
अघिल्लो वर्षको पहिलो ६ महिनाको तुलनामा समीक्षा अवधिमा टायर तथा ट्युव उत्पादन ९७ प्रतिशत, पशुदानाको उत्पादन ७३.९ प्रतिशत, जि.आई तार उत्पादन ४२ प्रतिशत, चप्पल उत्पादन ३८.९ प्रतिशत, चिनी उत्पादन ३५.९ प्रतिशत, फलामे छड, पत्ति तथा सामानहरुको उत्पादन १९ प्रतिशत, वनस्पति घिउको उत्पादन १५.८ प्रतिशतले वृद्धि भएको छ ।
सोही अवधिमा घरेलु धातुका सामानको उत्पादन ५२.१ प्रतिशत, गार्मेण्ट उत्पादन ५०.३ प्रतिशत, सिमेण्ट ३४.९ प्रतिशत, चामल उत्पादन १७.२, सिन्थेटिक कपडा १३.२ प्रतिशत , साबुनको उत्पादनमा ९.२ प्रतिशत घटेको छ ।
राष्ट्र बैंकले बिभिन्न ४३ उद्योगहरुलाई अध्ययनमा समावेश गरेको थियो । यी उद्योगहरुमा आर्थिक वर्ष २०७९-८० को पहिलो ६ महिनाको अवधिमा कुल १७ हजार ५५८ जना श्रमिक कार्यरत रहेकोमा आर्थिक वर्ष २०८०-८१ को पहिलो ६ महिनाको अवधिमा ०.९ प्रतिशत नयाँ श्रमिकले रोजगारी पाएका छन् । सो अवधिमा जम्मा १७ हजार ७२० जना कार्यरत छन्।
समीक्षा अवधिमा कोशी प्रदेशको कुल औद्योगिक रोजगारीमध्ये ९२.४ प्रतिशत स्वदेशी र ७.६ प्रतिशत विदेशी कामदारले रोजगारी प्राप्त गरेका छन् । २०८० असार मसान्तको तुलनामा २०८० पुस मसान्तमा कुल औद्योगिक कर्जा ०.५ प्रतिशतले बढेर रु. १ खर्ब २९ अर्व ८३ करोड पुगेको छ