काठमाडौं, २० जेठ । आगामी आर्थिक वर्ष ०८१÷८२ का लागि सरकारले प्रस्तुत गरेको बजेटमाथि आजबाट छलफल हुँदैछ । आज बिहान ११ बजे सुरु हुने प्रतिनिधिसभाको बैठकमा जेठ १५ गते संसदमा प्रस्तुत भएको राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री वर्षमान पुनले पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैमा आगामी आर्थिक वर्षको वार्षिक बजेट प्रस्तुत गरेका थिए ।
प्रतिनिधि सभामा आइतबार, सोमबार र मंगलबार बजेटमाथि छलफल हुनेछ भने बुधबार अर्थमन्त्री वर्षमान पुनले जवाफ दिनेछन् ।
त्यस्तै, राष्ट्रिय सभामा प्रस्तुत उक्त बजेटको राजश्व तथा वार्षिक अनुमानमाथि सामान्य छलफलका लागि १ः१५ बजे बैठक बोलाइएको छ । राष्ट्रिय सभामा ३ दिन बजेटमाथि छलफल सकेर २३ गते अर्थमन्त्रीले जवाफ दिनेछन् ।