बजेटमा वित्तीय क्षेत्र सुधार्ने कार्यक्रम आउनु सकारात्मक: डेपुटी गभर्नर मिश्र

अनलाइनसमय |
१७ जेठ २०८१
बजेटमा वित्तीय क्षेत्र सुधार्ने कार्यक्रम आउनु सकारात्मक: डेपुटी गभर्नर मिश्र

काठमाडौं, १७ जेठ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बजेटमा वित्तीय क्षेत्र सुधार्ने कार्यक्रम आउनु सकारात्मक रहेको बताएका छन् । बिहीबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेट विषयक छलफलमा उनले यस्तो बताएका हुन्।

यस्तै उनले कार्यक्रम कार्यान्वयनको नेतृत्व गर्न राष्ट्र बैंक तयार रहेको बताए । उनले भने, ‘बजेट यस्तो नीति आउनु एकदमै स्वागतयोग्य छ । यसको नेतृत्व लिने राष्ट्र बैंकले नै हो । त्यसका लागि हामी तयार छौं ।’

मिश्रले बजेटले सरकार र राष्ट्र बैंकको कार्यक्षेत्रबीच तादत्म्य मिलाएको भन्दै यसले बजेट कार्यान्वयनमा सहजता प्रदान गर्ने बताए ।
डिजिटल भुक्तानीको प्रवर्द्धन, केन्द्रीय बैंक डिजिटल करेन्सी, ग्रीन फाइनान्स ट्याक्सोनोमीलगायत विषयलाई बजेटमा समावेश गर्दै वित्तीय क्षेत्र सुधार गर्ने बजेटको घोषणाले राष्ट्र बैंकको कार्यक्रमलाई थप सहयोग पुग्ने उनको भनाई थियो ।

यस्तै उनले घर कर्जा कारोबार तथा फुकुवा, करसम्बन्धी काम, मालपोत लगायतका बीचमा डिजिटल प्लेटफर्म बनाएर बैंकको माध्यमबाट काम गर्ने नीति आउनु राम्रो पक्ष भएको बताए ।

बझाङको साइपलमा बैंक शाखा स्थापना गर्ने नीति ढिलै गरी भए पनि आउनु सकरात्मक रहेको उनले औंल्याए । ७५३ पाकिामध्ये साइपाल मात्रै बैंक शाखा नभएको गाउँपालिका हो ।

यस्तै उनले बजेटमा घोषणा गरेअनुसार सहुलियतपूर्ण कर्जाको नीतिलाई आगामी दिनमा आवश्यक पुनर्संरचना गरी यसलाई थप प्रभावकारी बनाउने जानकारी दिए ।

६ प्रतिशतको आर्थिक वृद्धि, ५.५ प्रतिशतमा मुद्रास्फीति सीमित राख्ने र १२ प्रतिशत कर्जा वृद्धि गर्ने लक्ष्य पूरा हुने उनको दाबी छ ।
चालू आवको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंकहरुलाई पुँजी पर्याप्ततामा सहजीकरण गरिसकेको हुँदा यो लक्ष्य प्राप्ति गर्न सहज हुने उनले बताए । समग्रमा यसअघि नै केन्द्रीय बैंक त्यसतर्फ अगाडि बढिसकेको उनको भनाइ छ। आर्थिक गतिविधि चलायमान बनाउने गरी आगामी आवको मौद्रिक नीति बनाउने तयारी भइरहेको मिश्रले जानकारी दिए।

‘निजी क्षेत्रले लचक मौद्रिक नीति आवश्यक रहेको बताएको छ। मौद्रिक नीति अहिले पनि लचकै छ। ब्याजदर पनि धेरै कम भइसकेको छ,’ उनले भने, ‘यद्यपि, अर्थतन्त्र चलायमान बनाउन आगामी आवको मौद्रिक नीतिबाट गर्न सकिने व्यवस्थाबारे हामी सकरात्मक छौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस