काठमाडौं, १३ जेठ । सरकारले आइतबार आर्थिक सर्वेक्षण २०८०–८१ सार्वजनिक गरेको छ । जसअनुसार आर्थिक वर्ष २०७९–८० मा नेपालमा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसङ्ख्या २०.२७ प्रतिशत रहेको छ ।
सर्वेक्षण अनुसार ग्रामिण क्षेत्रमा गरिबीको जनङ्ख्या २४ दशमलव ६६ प्रतिशत रहेको छ । उक्त क्षेत्रमा बहुआयामिक गरिबीमा रहेको जनसङ्ख्या २८ प्रतिशत रहेको छ ।
त्यस्तै शहरी क्षेत्रमा १८ दशमलव ३४ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेका छन् । सो क्षेत्रमा बहुआयामिक गरिबीमा रहेको जनसङ्ख्या १२ दशमलव ३ प्रतिशत रहेको छ ।
यस्तै आर्थिक सर्वेक्षण २०८०–८१ अनुसार नेपालमा बहुआयामिक गरिबीमा रहेको जनसङ्ख्या १७ दशमलव ७ प्रतिशत रहेको छ । साथै बहुआयामिक गरिबीको सुचकाङ्क र तिव्रता क्रमशः ०.०७४ सुचकाङ्क र ४२.५ प्रतिशत रहेको छ ।
पन्ध्रौं योजनाको अन्त्यसम्ममा निरपेक्ष गरिबीको दरलाई ९.५ पतिशतमा झार्ने लक्ष्य लिइए पनि कोभिड–१९ को महामारी र विश्व परिघटनाबाट आपूर्ति श्रृङ्खलामा परेको प्रभावका कारण निरपेक्षको गरिबी दर उच्च रहेको अर्थ मन्त्रालयले बताएको छ ।
नेपालमा गरिबीको रेखा प्रतिव्यक्ति प्रति वर्ष रु ७२ हजार ९०८ निर्धारण गरिएको छ, जसमध्ये खाद्य गरिबीको रेखा ३५ हजार २९ र गैर–खाद्य गरिबीको रेखा ३७ हजार ८७९ रुपैयाँ निर्धारण गरिएको छ ।