३० प्रतिशत प्राविधिकमात्र तालिम प्राप्त, २० लाख जनशक्ति तालिम विहीन

२८, साउन, काठमाडौं
नेपालमा प्राविधिक क्षेत्रमा कार्यरत जनशक्ति मध्ये ३० प्रतिशतले मात्र व्यावसायिक तालिम तथा प्रविधिक शिक्षा लिएको पाइएको छ । जम्मा ३० लाख जनशक्ति प्राविधिक कार्यक्षेत्रमा कार्यरत रहे पनि १० लाख जनाले मात्र छोटो तथा लामो समयको तालिम र शिक्षा लिएको पाइएको हो ।
आधारभूत तथा मध्यमस्तरीय प्राविधिक जनशक्ति प्रक्षेपण गरी राय सुझाव प्रतिवेदन पेश गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको गरेको कार्यदलले ३० प्रतिशतले मात्र तालिम तथा शिक्षा लिएको निष्कर्ष निकालेको हो । कार्यदलले सात वटा क्षेत्रहरू कृषि र वन, इञ्जिनियरिङ्ग तथा निर्माण, चिकित्सा तथा मानव स्वास्थ्य, होटल मेनेजमेन्ट, यातायात तथा संचार, प्रशोधन उद्योग र विविधलाई निजी तथा व्यावसायिक सेवाहरूमा समूहिकृत गरी कुल कार्यरत जनशक्तिको अनुमान तयार गरेको कार्यदलका सदस्य एवम सिटिईभिटीका सहप्रशासाक प्रमोदभक्त आचार्यले बताए ।

तालिमप्राप्त जनशक्तिको अनुमान तथा प्रक्षेपण

कार्यदलको आँकलन अनुसार विभिन्न आर्थिक क्षेत्र-पेशाहरू कृषि, वन, इञ्जिनियरिङ्ग तथा निर्माण, चिकित्सा तथा मानव स्वास्थ्य, होटल व्यवस्थापन, यातायात तथा संचार प्रशोधन, उद्योग र विविध निजी तथा व्यावसायिक सेवाहरूमा कूल ३६ लाख ४४ हजार ९८ जनशक्ति संलग्न भई कार्य गरिरहेको देखिन्छ । जसमध्ये १० लाख ८७ हजार ६०९ अर्थात् २९.८५ प्रतिशतले कुनै न कुनै अल्पकालीन तथा दीर्घकालीन तालिम प्राप्त गरेको पाइएको छ ।
यस्तो जनशक्ति मध्ये आर्थिक वर्ष २०७४-०७५ सम्ममा ६ लाख २६ हजार ८४३ जनशक्तिलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभिटी) बाट तालिम प्रदान गरिएको छ । तालिम प्राप्त व्यक्तिहरू मध्ये डिप्लोमा तथा प्रमाणपत्र तहमा ६७ हजार २६८ जना, प्राविधिक एसएलसी तर्फ २ लाख १६ हजार १०३ जना र सीप परीक्षण प्रमाणपत्र प्राप्त ३ लाख ४३ हजार ४७२ जना रहेका छन् ।
आधारभूत तथा मध्यमस्तरीय प्राविधिक जनशक्तिको अवस्था अध्ययन गर्दा कूल कार्यरत जनशक्ति मध्ये चिकित्सा तथा मानव स्वास्थ्य क्षेत्रमा सबैभन्दा बढी तालिम प्राप्त गरेको पाइएको छ । यस तथ्यांकले वर्तमान परिवेशमा चिकित्सा तथा मानव स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्ति भन्दा अधिक संख्यामा तालिम प्राप्त प्राविधिक जनशक्ति उपलब्ध भएको देखिन्छ । आगामी दिनहरूमा यस्ता कार्यक्रमहरू संचालन गर्दा उत्पादित जनशक्तिले रोजागारी पाउने सम्भाव्य क्षेत्रहरू पहिचान गर्नु पर्ने सिटिईभिटीका सहप्रशासक आचार्य बताउँछन् ।
कृषि तथा वन क्षेत्रमा भने तालिम प्राप्त जनशक्तिको हिस्सा न्यून (१६.३८ प्रतिशत) मात्र छ । कृषि तथा वन क्षेत्रका कूल तालिम प्राप्त जनशक्ति मध्ये ४०.५७ प्रतिशतले सिटिईभिटीबाट तालिम प्राप्त गरेका छन् । सबै प्रकारले तालिम प्राप्त जनशक्तिमध्ये अन्य गैर कृषि क्षेत्रहरू इञ्जिनियरिङ्ग तथा निर्माणमा ९०.७४ प्रतिशत, होटल व्यवस्थापनमा ५४.०४ प्रतिशत, प्रशोधन उद्योगमा ३१.४४ प्रतिशत र विविध तथा व्यावसायिक पेशामा २८.८६ प्रतिशत परिषद्को हिस्सा रहेको छ ।
परिषद्बाट यस्तो तालिम नगन्य (०.३१ प्रतिशत) मात्र रहेको देखिन्छ । सबै पेशागत क्षेत्रहरूमा अन्य तालिम प्रदान गर्ने निकायहरू नेपाल सरकारका मन्त्रालय तथा विभागहरू, विश्वविद्यालय, विद्यालय, गैरसरकारी संस्थाहरू संलग्न भई तालिम प्रदान गरेका छन् । समष्टिगत रुपमा कुल तालिम प्राप्त जनशक्ति मध्ये ५७.६३ प्रतिशत परिषद्बाट र अन्य विभिन्न तालिम प्रदायक निकायहरूबाट ४२.३७ प्रतिशत जनशक्तिलाई तालिम प्रदान गरेको पाइएको छ ।
गोपाल संग्रौला

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]