सांसदहरुले ४० मिनेटभन्दा बढी नाराबाजी गरे

साउन १४ काठमाडौं
प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राजपा नेपालका सांसदहरुले ४० मिनेटभन्दा बढी नाराबाजी गरेका छन् । सभामुख कृष्णबहादुर महराले बैठक सुरु गरे लगत्तै कांग्रेस र राजपाका सांसदहरुले आफ्नो सिटबाट विरोध जनाएका थिए ।
विरोधकै बीच सभामुखले बैठक अगाडि बढाउन खोजेपछि सांसदहरु बेल घेर्न पुगेका थिए । त्यसपछि उनीहरुले ‘संसदीय सर्वोच्चता कायम गर,’ ‘संसदीय छानबिन समिति गठन गर’ भन्दै निरन्तर नाराबाजी गरे ।
नाराबाजीका बीच पनि सभामुख महराले बैठक सञ्चालन गर्ने प्रयास जारी राखेका थिए । ‘बस्नुस् माननीय सदस्यहरु, गल्नुभयो होला’, ‘तपाईंहरुले उठाउनुभएको विषयमा छलफल हुन्छ’ भनेर सभामुखले बारम्बार प्रतिपक्षी सांसदहरुलाई बस्न आग्रह गरेका थिए ।
सर्लाहीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेलमाथिको प्रहरी कारवाही र क्रसरले पारेको खाल्डोमा परी बालकको मृत्यु भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागी एक व्यक्तिको मृत्यु भएको विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग कांग्रेस र राजपाले राख्दै आएका छन् । सोही माग दोहो¥याएर उनीहरुले सोमबारको बैठक अवरुद्ध गरेका हुन् ।
सभामुख महराले बैठकमा संसदीय सर्वोच्चताका लागि प्रतिपक्षीकै अवरोध बाधक भएको तर्क गरेका थिए । “माननीय सदस्यहरु, संसदीय सर्वोच्चता कायम गर्नका लागि अवरोध हट्नुपर्छ र छलफल हुनुपर्छ । संसदीय सर्वोच्चता भनेको संसदभित्र छलफलको वातावरण बनाउने हो । संसदमा अवरोध हुँदैन माननीय सदस्यहरु । संसद अवरोध भएपछि छलफल हुँदैन । छलफल नभएपछि सर्वोच्चता कायम हुँदैन,” उनले भने ।
सभामुख महराले संसदीय सर्वोच्चता कायम गर्नका लागि प्रतिपक्षी दलले अवरोध हटाइदिनुपर्ने आग्रह गरेका थिए । प्रतिपक्षी दलको अवरोधका कारण अन्य धेरै सांसदहरुले बोल्न नपाएको र उनीहरुको अधिकार हनन् भएको उनको तर्क थियो । प्रतिपक्षी सांसदका कारण सत्तारुढ सांसदको अधिकार खोसिएकोमा उनले चिन्ता व्यक्त गरे ।
सत्तारुढ दलका सांसदहरु भने बैठक सञ्चालनका पक्षमा थिए । केही सांसद बोल्न खोजेपनि सभामुखले समय दिएनन् ।
कांग्रेसले भने संसद प्रतिपक्षको हुने बताउँदै आएको छ । आफूले उठाएको मागअनुसार संसदीय समिति नबनाइनु नै संसदीय सर्वोच्चताको हनन् भएको कांग्रेस र राजपाको तर्क छ । संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले नागरिकको जीवन रक्षा गर्ने दायित्व पूरा गर्न सरकारलाई खबरदारी गर्न पनि आफूहरु लागिपरेको दाबी गरे । यसकै लागि बैठक अवरुद्ध गर्नुपरेको उनको प्रष्टोक्ति थियो ।
प्रतिपक्षी सांसदहरुले बेल घेरेर नाराबाजी गरिरहँदा अडियोको लाइन भने काटिएको थियो । सभामुखले बोल्दा भने ‘माइक अन’ गरिएको थियो । लगातारको नाराबाजीपछि बैठक कार्यसूचीमै प्रवेश नगरी साउन १५ गते बस्नेगरी स्थगित भयो ।

Releated

कर्मचारीको आवश्यकता हेरेर मात्र अध्ययन बिदा दिईने

कर्मचारीको आवश्यकता हेरेर मात्र अध्ययन बिदा दिईने २१ साउन, काठमाडौं । सरकारले निजामती कर्मचारीलाई दिइने अध्ययन विदाका प्रावधानमा कडाई गदै बिदा बस्नु पर्ने बिभिन्न प्रमाणहरु हेर्ने जनाएको छ । अध्ययन विदाको दुरुपयोग गदै बिदामा गएका कर्मचारीहरुले जागिर तथा अन्य काम गर्ने गरेको देखिको जनाउदै अध्ययन बिदामा कडाई गर्ने भएको हो । अब चित्त बुझदो कारण […]

भारत प्रशासित कश्मीरमा तनाव बढ्दै, जम्मु कश्मीरमा जनजिबन प्रभावित

२० साउन, नयाँ दिल्ली भारत सरकारले जम्मु कश्मीरलाई विशेषाधिकार दिने संवैधानिक प्रावधान खारेज गरेको छ । यो निर्णयसँगै भारत प्रशासित कश्मीरमा तनाव बढ्दै गएको छ । सो क्षेत्रका कयौं नेतालाई सोमबार बिहानैदेखि नजरबन्दमा राखिएको छ जम्मु र कश्मीरलाई विशेषाधिकार दिएको संविधानको धारा ३७० र अनुच्छेद ३५ ए खारेज गरेको सूचना राष्ट्रपति रामनाथ कोविन्दले गरेका छन् […]