लोक सेवाको विज्ञापन नरोकिने , साउनमा जाँच, मंसिरमा जागिर

 असार १८, काठमाडौं । स्थानीय तहका लागि खोलेको विज्ञापन नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि लोक सेवा आयोगले नौ हजार बढी कर्मचारी भर्नाको प्रक्रिया अघि बढाउने भएको छ। आयोगले गरेको विज्ञापन समावेशी नभएको दाबीसहित रद्द गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले सोमबार अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।

न्यायाधीश हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलासले आयोगले खुलाएको विज्ञापनमा चार लाख बढीले आवेदन दिइसकेकोले ‘प्रतिस्पर्धा गर्न पाउने हक कुण्ठित हुने’ भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

स्थानीय तहबाट माग भएअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विवरण उपलब्ध गराएपछि नौ हजार एक सय ६२ पदका लागि जेठ १५ गते आयोगले विज्ञापन खुलाएको थियो। कर्मचारी समायोजन ऐन २०७५ को दफा १२ को व्यवस्था तथा मन्त्रिपरिषद बैठकको जेठ ६ को निर्णयअनुसार स्थानीय तहका रिक्त रहेका पदमा आयोगले विज्ञापन खुला गरेको थियो।

प्राविधिक र अप्राविधिक जनशक्तिका लागि खुलाइएको विज्ञापन समावेशी सिद्धान्तअनुसार (४५ प्रतिशत समावेशी र ५५ प्रतिशत खुला) हुनु पर्नेमा नभएको भन्दै सर्वोच्च अदालतमा तीन वटा रिट परेका थिए भने विज्ञापनको पक्षमा पनि एउटा रिट परेको थियो।

आयोगले दोब्बर शुल्क तिरेर आवेदन दिने समय पनि सकिएको छ । आयोगका शाखा अधिकृत नारायणप्रसाद पोखरेलका अनुसार सोमबार बिहान ११:४५ बजेसम्म आवेदन दिनेको संख्या चार लाख ३५ हजार एक सय ९१ पुगेको छ।

अब आयोगले साउन, भदौ र असोजमा परीक्षा लिनेछ। असोज, कात्तिक र मंसिरमा अन्तर्वार्ता/सिफारिस गर्ने कार्यतालिका छ। आवेदन खुला गरेको पाँच महिनामा उमेद्वार छनौट गरिसक्ने गरी आयोगले काम अघि बढाएको हो।

आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले कार्यतालिकाअनुसार नै काम अघि बढाइएको जानकारी दिए। आयोगले संविधानअनुसार नै विज्ञापन गरेकोले विज्ञापन स्थगित गर्नुपर्ने कुनै कारण नदेखिएको उनको भनाइ छ।

 

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]