बानेश्वर घटनाबाट पाठ सिक्दै सशस्त्र प्रहरीले आफ्ना आफ्ना सवारीसाधनमा ग्रोप्रो क्यामरा जडान गर्ने

Posted: Monday
बानेश्वर घटनाबाट पाठ सिक्दै सशस्त्र प्रहरीले आफ्ना आफ्ना सवारीसाधनमा ग्रोप्रो क्यामरा जडान गर्ने

 वैशाख २, काठमाडौं । सशस्त्र प्रहरीले आफ्ना आफ्ना सवारीसाधनमा ग्रोप्रो क्यामरा जडान गर्ने निर्णय गरेको छ । अहिले सशस्त्रका वरिष्ठ उपरीक्षक (एसएसपी) देखि माथिल्लो दर्जाका सबै अधिकृतको गाडीको अगाडिको भागमा गोप्रो क्यामरा जडान गरिएको छ ।

अपरेशनमा जाने गाडीमा पनि क्यामरा फिट गरिएको छ । पहिलो चरणमा ४ सय वटा गोप्रो विभिन्न युनिटमा बाँडिएको स्रोतको भनाइ छ । काठमाडौं बाहिर गण, बाहिनी र गुल्ममा २५० वटा बाँडिएको छ भने ५० वटा मुख्यालयमा प्रयोग गरिएको छ ।

बानेश्वरमा पूर्वप्रधानमन्त्री लोकेन्द्र चन्दको पछुवा गाडीले स्कुटरलाई ठक्कर  दिएपछि सशस्त्र प्रहरी निकै आलोचित भयो । त्यस्तै दुर्घटना हुँदा अनुसन्धानका लागि सहज हुने भएकाले ग्रोप्रो क्यामरा फिट गरिएको अधिकारी बताउँछन् । बानेश्वर घटनामा पनि एक जना सर्वसाधारणको गोप्रो क्यामराबाट खिचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

सशस्त्र प्रमुख प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल सूचना प्रविधिको बढ्दो प्रयोगसँगै यसबाट उत्पन्न हुनसक्ने सुरक्षा चुनौतिको सामना गर्न छुट्टै सेल खडा गर्ने योजना रहेको बताउँछन् ।

उनका अनुसार बलको मुख्यालयमा सक्षम र प्रविधिमैत्री साइबर अपराध र आईटी सम्बन्धी सेल राख्न लागिएको हो । सशस्त्र प्रहरीलाई प्रविधियुक्त बनाउने योजना अनुरुप नै गोप्रो, ड्रोन लगायतका उपकरण प्रयोगमा ल्याइएको उनी बताउँछन् ।

सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा सीसीटीभीबाट निगरानी गर्ने भएको छ । हाल सीमा क्षेत्रमा रहेका १ सय ६ बोर्डर आउट पोस्ट (बीओपी) मा सीसी टीभी राख्न लागिएको हो ।

महानिरीक्षक शैलेन्द्र खनालकाअनुसार गृहमन्त्रालयले सार्वजनिक गरेको गृह प्रशासन सुधार कार्ययोजनामा भएको बीओपीलाई प्रविधियुक्त बनाउने बुँदा अनुरुप यो अभियान थालिएको हो । उनका अनुसार बलले सीसी टीभीसँगै ड्रोन र गोप्रो क्यामेराको पनि प्रयोग गर्नेछ ।

पहिलो चरणमा प्रभावकारिता हेरेर क्रमशः अन्य वीओपीमा पनि सीसी क्यामरा राखिँदै लगिने उनले बताए । ड्रोन भने विशेष गरी विपदको समयमा विकट ठाउँको रेकी र पहाड, भीर, पाखामा ड्रोन उपयोगी हुने डीआईजी श्रेष्ठको भनाइ छ ।