मणिचुड पर्यटन महोत्सव सम्पन्न

Posted: Monday
मणिचुड पर्यटन महोत्सव सम्पन्न

बैशाख २, काठमाडौँ । “मणिचुड पर्यटन महोत्सव ऐतिहासिक धार्मिक सांस्कृतिक एवं पर्यटकीयस्थल बज्रयोगिनी मणिचुड जाऔ, आन्तरिक तथा बाह्य पर्यटनलाई विकास गरौँ “भन्ने मूल नाराका साथ बज्रयोगिनी मणिचुड पर्यटन महोत्सव २०७६ सम्पन्न भएको छ ।

काठमाडौँ जिल्लाको शंखरापुर नगरपालिका वडा नम्बर ८ बज्रयोगिनी घुमारचोकदेखि ऐतिहासिक धार्मिक सांस्कृतिक एवं पर्यटकीयस्थल मणिचुड र विश्व सम्पदा सूचीमा सूचिकृत हुन प्रस्तावित धार्मिक सहिष्णुताको प्रतीक बज्रयोगिनी मन्दिरको महत्वलाई उजागर गरी पर्यटन गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले नववर्ष २०७६ सालको पावन अवसरमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं प्रगतिको कामना सहित यो पर्यटन महोत्सब आयोजना भएको हो ।

बिगत ४ वर्ष देखि निरन्तर रुपमा प्रत्येक वर्ष नया वर्ष अर्थात् बैशाख १ गतेका दिन बज्रयोगिनी मणिचुड पर्यटन प्रबर्दन समितिको आयोजनामा बजयोगिनी मणिचुड महोत्सब सभ्य र भब्य तरिकाले मनाउदै आइरहको छ। त्यसैको निरन्तरता स्वरुप यस वर्ष दुइ दिन उक्त महोत्सब  मनाइएको हो ।

उक्त कार्यक्रममा शंकरापुर नगरपालिकामा अवस्थित शंखरापुर नगर मावि स्तरीय वक्तित्वकला प्रतियोगिता, मैत्रीपूर्ण फुटबल प्रतियोगीता ,बज्रयोगिनी मन्दिर परिसरदेखि मणिचुड कुण्ड सम्म म्याराथुन प्रतियोगिता , मणिचुड कुण्ड नजिकै रहेको साढे उचाल्ने प्रतियोगिता, शंखरापुर नगर स्तरिय लोकदोहोरी प्रतियोगिता, स्थानिय तामाङ, नेवार, बाहुन ,क्षेत्री समुदायको भेषभूषा ,जाति ,रीतिरिवाज ,कला-संस्कृति ,बाजागाजा, सहितको झाँकी कार्यक्रम प्रस्तुत गरिएको थियो।

साथै औपचारिक कार्यक्रम नव वर्ष वैशाख १ गतेका दिन बिहान विशेष समुद्घाटन समारोह आयोजना गरिएको थियो थियो।

सामान्य प्रशासन मन्त्री तथा संघीय मामिला मन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यतामा कार्यक्रमको औपचारिक समुद्घाटन भएको थियो । उक्त कार्यक्रममा बुद्धमूर्तिको शिलान्यास गरिएको थियो भने स्थानीय तामाङ नेवार क्षेत्री बाहुन समुदायको संस्कृति प्रदर्शन एवं स्थानीय समुदायको भौतिक परिकारहरूको समेत प्रदर्शनी गरिएको थियो  ।

हिमश्रृङ्खलाहरु को मनोरम दृश्यका साथसाथै काठमाडौँ उपत्यकालाई नजिकबाट नियाल्न सकिने स्थान हो मणिचुड । प्राकृतिक छटाले भरिपूर्ण ,अत्यन्तै रमणीय मणिचूड क्षेत्र र प्रसिद्ध बज्रयोगिनी मन्दिरको,ऐतिहासिक तथा साँस्कृतिक महत्त्वका बारेमा प्रचारप्रसार गरी सो क्षेत्रमा पर्यटन प्रबर्द्धनमार्फत् रोजगारी सिर्जना र विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकको भनाइ छ।

उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा  संघीय सांसद माननीय सरिता न्यौपाने ,प्रदेश नं. ३ प्रदेश सभा सदस्य माननीय मणिराम फुयाँल,शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ,उप-प्रमुख शुक्रलक्ष्मी श्रेष्ठ,नगरका प्रमुख प्रशासकीय अधिकृत प्रमोद सिम्खडा,तथा वडा अध्यक्षलगायतका जनप्रतिनिधिहरू र स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।

लोकदोहोरी प्रतियोगिताको विजेता वडा नं. ८, वडा नं. २ को टोली उप-विजेता भयो भने वडा नं. १ को टोली तेस्रो स्थान प्राप्त गर्न सफल भयो।महोत्सवका अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगिता,फुटबल प्रतियोगिता लगायतका विजेताहरूलाई पुरस्कार एवम् प्रमाणपत्र वितरण गरिएको थियो।