सांसद राजेन्द्र लिङ्देनलाई ५० लाख रूपैयाँ माग्दै ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ

Posted: Wednesday
सांसद राजेन्द्र लिङ्देनलाई ५० लाख रूपैयाँ माग्दै ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ

चैत २७, काठमाडौं । झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनलाई ५० लाख रूपैयाँ माग्दै ज्यान मार्ने धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। झापा घर भई सामाखुसी बस्दै आएका तिलकदास पराजुलीलाई केन्द्रीय अनुसन्धान ब्युरोले सोमबार पक्राउ गरेको हो।

उनीसँगै हुम्लाका प्रदीप रोकायालाई पनि प्रहरीले पक्राउ गरेको छ। ब्यूरोका अनुसार पराजुलीले आफू राप्रपाको कार्यकर्ता भएको, झापाका विभिन्न कार्यक्रममा लिङ्देनसँगै हिँडेको बताएका छन्। तर, लिङ्देनले भने उनलाई नचिनेको बताएका छन्।

ब्यूरोका अनुसार पराजुली मेनपावर कम्पनीमा मान्छे ओसार्ने ‘दलाल’ हुन्। उनीविरूद्ध झापामा ठगी मुद्दा रहेको प्रहरीले जनाएको छ।

विदेश पठाउन भन्दै विभिन्न मान्छेबाट पैसा लिएका पराजुलीले रकम फिर्ता गर्न नसकेपछि सांसदलाई धम्की दिएर असुल गर्न खोजेको बताएका छन्। ‘पैसाको अभाव भएपछि ज्यान मार्ने धम्की दिएको खुलेको छ,’ ब्युरोका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले भने, ‘उनले आफू राप्रपाकै कार्यकर्ता रहेको बताएका छन्।’

पराजुलीले बसपार्कमा मजदुरी काम गर्ने रोकायाको नागरिकता प्रयोग गरी सिमकार्ड किनेर सांसद लिङ्देनलाई पटक–पटक धम्की दिएका थिए।

मार्च १७ देखि १९ सम्म लगातार धम्की आएपछि सांसद लिङ्देनले ब्युरोमा मौखिक उजुरी गरेका थिए। सो उजुरीपछि पराजुलीको खोजीमा लागेको प्रहरीले सुरूमा रोकायालाई समातेको थियो। रोकायाले पराजुलीलाई पोलेका थिए।

लिङ्देनका अनुसार तपाईंलाई मार्न पचास लाख रुपैयाँ लिएको छु भन्दै पराजुलीले धम्की दिएका थिए। ‘म पैसाको लागि काम गर्ने मान्छे हुँ, पचास लाख रुपैयाँ दिने सर्तमा मैले तपाईंलाई मार्न एड्भान्स लिइसकेको छु,’ पराजुलीको धम्की सुनाउँदै लिङ्देनले भने।