आइपीएल – कोलकता नाइट राइडर्सलाई पराजित गर्दै चेन्नाई सुपर किंग्स शिर्ष स्थानमा

Posted: Wednesday
आइपीएल –  कोलकता नाइट राइडर्सलाई पराजित गर्दै चेन्नाई सुपर किंग्स शिर्ष स्थानमा

चैत २७, काठमाडौं । कोलकता नाइट राइडर्सलाई पराजित गर्दै चेन्नाई सुपर किंग्स आइपीएल २०१९ को शीर्ष स्थानमा उक्लेको छ। मंगलवार भएको खेलमा चेन्नाईले कोलकतालाई ७ विकेटले पराजित गरेको हो।

घरेलु मैदानमा चेन्नाईले १०९ रनको लक्ष्य १७.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो। जितपछि ६ खेलबाट १० अंक जोड्दै चेन्नाई कोलकतालाई पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ। चेन्नाई समान खेल खेलेको कोलकता भने सिजनको दोस्रो हारपछि ८ अंकका साथ दोस्रो स्थानमा छ।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकताको ब्याटिङ चेन्नाईको बलिङ सामु धरासयी बनेको थियो। तर सातौँ नम्बरमा ब्याटिङ गरेका आन्द्रे रसेलले अर्धशतक बनाएपछि टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले ९ विकेट गुमाएर १०८ रन बनाएको थियो।

रसेलले ४४ बल खेल्दै ५ चौका र ३ छक्काको मद्दतमा नटआउट ५० रन बनाए। कप्तान दिनेश कार्तिकले १९ र रोविन उथाप्पाले ११ रन जोडे। बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्।

कोलकताका चार खेलाडी शुन्यमा आउट भएका थिए। चेन्नाईका लागि दिपक चाहरले ३ तथा हरभजन सिंह र इमरान ताहिरले २-२ विकेट लिए। चार ओभर बलिङ गर्दा चाहरले २०, सिंहले १५ र ताहिरले २१ रन खर्चे।

चेन्नाईलाई यस सिजन पाँचौ जित दिलाउने क्रममा फाप डु प्लेसिसले नटआउट ४३ रन बनाए। उनले ४५ बल खेल्दै ३ चौका प्रहार गरे। यस्तै अम्बाटी राएडुले २१, सेन वाट्सनले १७ र सुरेश रैनाले १४ रन योगदान गरे।

कोलकताका लागि सुनिल नारिनले ३.२ ओभरमा २४ रन खर्चेर २ विकेट लिए।