वीर अस्पताल प्रशासनले प्रहरी लगाएर ओपीडी टिकट बाढ्यो

Posted: Wednesday
वीर अस्पताल प्रशासनले प्रहरी लगाएर ओपीडी टिकट बाढ्यो

 चैत २७, काठमाडौं । वीर अस्पताल प्रशासनले प्रहरी लगाएर ओपीडी टिकट बाँडेको छ । चिकित्सकहरुले ओपीडी सेवा बन्द गरेको छैठौँ दिन बुधबार बिहानबाट प्रशासनले प्रहरीको सहयोगमा ओपीडीको टिकट खुलाएको हो ।

अस्पताल प्रशासनले ओपीडी टिकट काटेपनि चिकित्सकहरुले भने उपचारमा नजाने बताएका छन् ।बुधबार बिहान ६ बजेबाट ओपीडी टिकट खुला गरिएपनि ४ बिहान १० बजेसम्म ३०७ वटा ओपीडी टिकट काटिएको छ ।

वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले बिहीबार ओपीडीको टिकट काटिएको र डाक्टरहरुले आफ्नो कार्यकक्षभन्दा बाहिर बिरामी जाँचिरहेको बताए । उनका अनुसार डाक्टरहरुले अस्पतालको आँगनमा बिरामी जाँच्न थाले पनि अत्यावश्यक बाहेकका अपरेसनको काम भने गरेका छैनन् । यसबाट अपरेसनको डेट लिएर भर्ना भएका बिरामीहरुको कहिले अपरेसन हुने भन्ने ठेगान छैन ।

कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै गत शुक्रबारबाट देशभरका सरकारी चिकित्सकहरुले अत्यावास्यक बाहेकका सेवा अवरुद्ध गरेर आन्दोलनलाई जारी राखेका छन् । सरकारी चिकित्सकहरुले आफुहरुलाई समायोजन गर्दा संघ अन्तर्गत नै राख्नुपर्ने मुख्य माग अघि सारेका छन् ।

यसैबीच संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारी चिकित्सकहरुका माग जायज नभएको बताएका छन् ।उनले संविधानअनुसार चिकित्सकहरुको समायोजन गर्न लागिएको भन्दै उनीहरुका मागप्रति सरकारले वार्ता गर्न जरुरी नभएको प्रस्ट पारेका छन् ।

यता, मन्त्री पण्डितले चिकित्सकहरुले अटेर गरेर सेवा अवरुद्ध गरिरहे सरकार कारवाही गर्न बाध्य हुने चेतावनी दिएका छन् । उता डाक्टरहरु भने आफ्ना माग पुरा नभए सामुहिक राजीनामा बुझाउने भन्दै राजीनामा संकलन गर्न थालेका छन् ।