बाफलमा युवकको हत्या आरोपमा पक्राउ परेका व्यक्ति भन्छन “उ आफैले आफैलाई हानेको हो “

Posted: Monday
बाफलमा युवकको हत्या आरोपमा पक्राउ परेका व्यक्ति भन्छन “उ आफैले आफैलाई हानेको हो  “

२५ चैत, काठमाडौं । एक साताअघि काठमाडौंको बाफलमा भएको युवकको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तर, ज्यान गुमाउने र पक्राउ पर्ने दुवैको हालसम्म सनाखत भएको छैन ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार तराई मुलको जस्तो देखिने मृतक युवकसँग बस्ने व्यक्ति पक्राउ परेका हुन् । दुवै जना बाफलस्थित स्युच्टार पुलमुनि बसेर मागी खान्थे ।

पक्राउ परेका युवकले भने घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका छन् । यद्यपि, उनले आफैंले उनको मृत्यु भएको देखेको भने बताएका छन् ।

‘उसले आफैंले सिसाले हानेको हो’, अभियुक्तको बयानलाई उदृत गर्दै अनुसन्धान अधिकारी भन्छन्, ‘मैले पनि त्यो देखेको हुँ ।’ तर, मानसिक रुपमा ठीक नभएकाले प्रहरी उनको बयानलाई आधार मान्न सक्दैन ।

‘मानसिक सन्तुलन गुमेको व्यक्तिको बयान अदालतले पनि मान्दैन’, अनुसन्धान अधिकारी भन्छन्, ‘के गर्ने अन्यौलमा छौं । विज्ञसँग परामर्श गर्छौं ।’

स्थानीयले भने उनीहरु दुईबीच वेलावेला झगडा हुने गरेको प्रहरीलाई बताएका थिए । घटनास्थल नजिकै प्रहरी बिट पनि छ । जहाँका अधिकारीले उनीहरुबीच केहीअघि भएको झगडा पनि देखेका थिए ।