द भ्वाइस अफ नेपाल सिजन २ को घोषणा, सिजन २ हिमालयन टिभी एचडीबाट प्रशारण हुने

Posted: Monday
द भ्वाइस अफ नेपाल सिजन २ को घोषणा, सिजन २ हिमालयन टिभी एचडीबाट प्रशारण हुने

चैत ४, काठमाडौं । काठमाडौंमा एक कार्यक्रमको घोषणा गर्दै द भ्वाइस अफ नेपालको सिजन २ घोषणा गरिएको छ । अघिल्लो सिजनको सफलतापछि दोस्रो सिजन घोषणा गरिएको हो भने यसपटक हिमालयन टिभी एचडीबाट यसको प्रशारण हुनेछ । हिमालय टेलिभिजनको एचडी सेवा शुभारम्भसँगै गत माघ १ गतेबाट सुरु भएको डिजिटल अडिसनमा अहिलेसम्म झण्डै १० हजार प्रतिभाहरुले आफ्नो आवाजबाट पहिचान बनाउने उद्देश्यसहित अडिसन दिइसकेको जानकारी गराउदै देश बिदेशमा रहेका प्रतिभाहरुले सिजन २ मा सहभागिताका लागि द भ्वाइस अफ नेपालको मोबाइल एप डाउनलोड गरी गीत रेकर्ड गरेर अडिसन दिन सक्ने भ्वाइसका निर्माता तथा निर्देशक लक्ष्मण पौडेलले जानकारी दिनुभयो ।

एपमार्फत् अडिसन दिन असमर्थ प्रतिभाहरुले फेसबुक वा भाइबरजस्ता म्यासेजिङ एपमार्फत् पनि आफ्नो स्वर रेकर्ड गरी पठाएर अडिसनमा सहभागिता जनाउन सक्ने आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । अडिसनलाई सहज र सर्वसुलभ बनाउन यसपटकदेखि सामाजिक सञ्जालमार्फत् पनि आफ्नो स्वर पठाउन सकिने ब्यबस्था गरिएको जनाउदै निर्देशक पौडेलले इन्टरनेटको पहुँचमा नभएका प्रतिभाहरुले फोन गरेर पनि भ्वाइस निर्माण टीमलाई आफ्नो आवाज सुनाई सहभागी हुन सक्ने बताए । भाइबरमा आफ्नो आवाज रेकर्ड गरी ९८२३६१४१८५ मा पठाउन सकिने छ भने सिधै कल गरेर रेकर्ड पनि गराउन सकिनेछ ।

पहिलो सिजनमा पाएको माया र सुझाव ख्याल गर्दै प्रतियोगीलाई सहभागी हुन् सहज होस् भन्ने उदेश्यका साथ् नयाँ नयाँ तरिका अपनाइएको द भ्वाइसले जनाएको छ । यी सम्पूर्ण प्रतियोगीले ब्लाइन्ड अडिसनमा सहभागी हुन पाउनेछन् । आउँदो असारबाट प्रसारण सुरु हुने दोस्रो सिजनलाई हिमालय टेलिभिजन एचडी प्रसारण गर्नेछ । ‘भ्वाइस जस्तो शो पाउनु हाम्रो लागि अवसर नै हो यसलाई टिभीले सदुपयोग गर्नेछ’ कार्यकारी निर्देशक श्याम कँडेलले भने ‘हामीले प्रसारण गर्ने शो मा कुनै सम्झौता हुनेछैन भने प्रतियोगिता विजयीको लागि पनि हामी ग्राण्ड सोचिरहेका छौ ।’ डिजिटल अडिसनमा सहभागी हुने समय चैत १० गते सम्म मात्र रहेको छ ।