इथियोपियामा र इन्डोनेसियामा बिमान दुर्घटनापश्चात चीनमा बोइङ ७३७ म्याक्स ८ विमान उडाउन रोक

Posted: Monday
इथियोपियामा र इन्डोनेसियामा बिमान दुर्घटनापश्चात चीनमा बोइङ ७३७ म्याक्स ८ विमान उडाउन रोक

 फागुन २६, काठमाडौं । चीनले आफ्ना सबै घरेलु विमान सेवाप्रदायक कम्पनीहरुलाई बोइङ ७३७ म्याक्स ८ विमानहरुलाई तत्कालै ग्राउन्ड गर्न निर्देशन दिएको छ । यही मोडलको विमान आइतबार इथियोपियामा र केही समयअघि इन्डोनेसियामा दुर्घटना भएपछि चीनले यस्तो निर्देशन जारी गरेको हो ।

दुई दुर्घटनामा देखिएको ‘समानता’ लाई औल्याउँदै चीनको नागरिक उड्डयन प्राधिकरणले स्थानीय समयअनुसार सोमबार साँझ ६ बजेभित्र सबै ७३७ म्याक्स ८ विमानलाई ग्राउन्ड गर्न निर्देशन दिएको छ ।

प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै विमानको सुरक्षालाई सुनिश्चित गरेपछि मात्र उक्त मोडलको विमानलाई उडान भर्न अनुमति दिइने बताएको छ ।

उड्डयन प्राधिकरणले यस विषयमा अमेरिकी फेडरल एभिएसन एडमिनिस्ट्रेसन र बोइङ कम्पनीसँग छलफल गर्ने बताएको छ ।

केन्यातर्फ उडिरहेको इथियोपियन एयरलाइन्सको विमान आदिस अबाब नजिकै दुर्घटना हुँदा विमानमा सवार सबै १५७ जनाको निधन भएको थियो । यसमा ८ जना चिनियाँ नागरिक पनि थिए ।

यसअघि सन् २०१८ को अक्टोबरमा इन्डोनेसियाको लायन एयरको ७३७ म्याक्स ८ विमान जकार्ताबाट उडान भर्ने बित्तिकै दुर्घटना हुँदा १८९ जनाको मृत्यु भएको थियो ।

चीनमा हाल ७६ वटा बोइङ ७३७ म्याक्स ८ विमान रहेका छन् भने त्यहाँ थप १०४ वटा विमान अर्डर गरिएको छ ।एजेन्सी