सिके राउतलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले दियो आदेश

Posted: Thursday
सिके राउतलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले दियो आदेश

फागुन  २३, काठमाडौं । गत असोजमा पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।  प्रधानन्याधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश पुरुषोतम भण्डारीको संयुक्त इजलासले छोड्ने आदेश दिएको हो। राउतलाई जिल्ला अदालत रौतहटले पूर्पक्षका लागि थुनामा पठाएको थियो।

राज्यविरुद्ध संगठित कसुर मुद्दामा रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशलाई सर्वोच्चले आज बदर गरेको हो। अब उनले साधारण तारेखमा रही उक्त मुद्दा खेप्न पाउने छन्। उनलाई गैर कानुनी थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरण रिट गत मंसिर १७ गते खारेज भएपछी उनलाई थुनामै राखी राज्यविरुद्धको कसुर मुद्दामा अनुसन्धान गर्ने बाटो खुलेको थियो।

सोही मुद्दामा रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेश भने आज सर्वोच्च अदालतले बदर गरिदिएको हो। सर्वोच्चको आदेशमा रिहा गर्नुका दुई कारण रहेका छन् जसमध्ये अपराधसँग दशी प्रमाण केही फेला नपर्नु र  प्रत्यक्ष रुपमा यो यस्तो कार्य गरी अभियोग दावी बमोजिमको कसुर गरेको भन्ने नदेखिएको ।