काठमाडौंमा सडकसँगै टाँसिएर रहेका जोखिमयुक्त पेट्रोल पम्प हटाउन पहल

Posted: Wednesday
काठमाडौंमा सडकसँगै टाँसिएर रहेका जोखिमयुक्त पेट्रोल पम्प हटाउन पहल

५ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकसँगै टाँसिएर रहेका जोखिमयुक्त पेट्रोल पम्प हटाउन पहल थालेको छ । शहरी सुव्यवस्था विभागका प्रमुख हरि कुँवर नेतृत्वको समितिले आपूर्ति मन्त्रालय, नेपाल आयाल निगम, महानगरीय प्रहरी लगायतका निकायसँग छलफल थालेको हो ।

कुवँरका अनुसार १५ वटा हटाउनुपर्ने अवस्थाका पम्पबारे महानगरीय प्रहरीले समितिलाई जानकारी दिएको छ । यी पम्पका सूची महानगरपालिकाले निगमलाई पनि दिएको छ ।

दमकलचोकको एचपी इन्टरनेसनल इन्क, त्रिपुरेश्वरका जयन्ती र मायाराम भोलाराम, कलंकीका बाबा, स्यामा र त्रिशूल, जोरपाटीका जुबी र बराल, एकान्तकुनाको गायत्री, महाराजगङ्जको सीता, टेकुको कनक, सोल्टीमोडको सीता तथा बालाजुको कोतधुकु पेट्रोलपम्पलाई हटाउनुपर्ने प्रहरीको सुझाव छ ।

यसबारे अब विस्तृतमा अध्ययन गर्ने तयारी छ । हटाउन सिफारिस हुन लागेका पम्पहरुबारे स्थलगत रुपमा अध्ययन गरिने संयोजक कुँवरले बताए । ती पम्पहरु कुन अवस्थामा सञ्चालन अनुमति दिइएको थियो र हाल कुन अवस्थामा छन् भनेर अध्ययन गरिनेछ ।

शहरका धेरै पम्पहरुमा आफ्नै सुरक्षा पर्खाल छैनन् । गाडी लाइन लाग्न पुग्ने ठाउँ पनि छैन, जसले गर्दा सडकसम्मै गाडी लाइनमा बस्छन् । आगो निभाउन राख्नुपर्ने आधुनिक यन्त्र उपकरण पनि यस्ता पम्पले राखेका छैनन् ।

पम्पमा सुरक्षा हेर्ने गरी गार्डहरु पनि राखिएका छैनन् । यसले गर्दा आगलागी भए सडकमा गुडिरहेका गाडी, तिनमा सवार यात्रु र पैदलयात्रुलाई समेत क्षति पुर्‍याउने निश्कर्ष महानगरको छ ।