आज छठ पर्वको दोस्रो दिन खरना मनाइँदै

Posted: Monday
आज छठ पर्वको दोस्रो दिन खरना मनाइँदै

कार्तिक २६, काठमाडौं ।  छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदैछ। आज गाईको गोबरले घर लितपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलनले भूमि सजाएर दिनभरी ब्रतालु निराहार  व्रत बस्ने गर्छन् र राती चन्द्रमालाई खीर चढाई सोही प्रसाद ग्रहण गर्छन्।

आजको पुजामा नैवेद्य चढाउने बेलामा जतिवटा अर्घदान गरिने हो, त्यतिवटा स्थानमा केराको पातमाथि नैवेद्य चढाउने गरिन्छ। यसरी चढाइने नैवेद्यमा खीर, दूध, केरा मूला, पान र सुपारी आदि राखिन्छन्। महाभारतकालमा द्रौपतिसहित पाण्डवहरुले अज्ञात वासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको कथन छ।

पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपसना गरी यो पर्व मनाउने गरिन्छ। छठको मुख्य दिन भोलि अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य दिई गहुँ र चामलको पिठोबाट बनेको परिकार चढाउने गरिन्छ भने चौथो तथा अन्तिम दिन उदाउँदै गरेको सूर्य र षष्टी मातालाई अघ्र्य दिई छठ सम्पन्न गरिन्छ।