आज देशभरका मुसलमानले इद उल फित्र पर्व मनाउँदै

Posted: Saturday
आज देशभरका मुसलमानले इद उल फित्र पर्व मनाउँदै

असार २, काठमाडौं । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिनाको पहिलो दिन शनिबार देशभरका मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदै छन् ।

शनिबार विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद तथा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । खुशीपूर्वक गरीबलाई दान गरिने भएकाले सो पर्वलाई इद उल फित्र भनिएको हो ।

अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले  जानकारी दिए । शनिबार बिहान नेपाली जामे मस्जिद घण्टाघरमा विशेष नमाज पाठ गरिनेछ ।

सो पर्वको अर्को उल्लेखनीय पक्ष गरीबलाई दान दिनु हो । यसैगरी घण्टाघरमै रहेको काश्मिी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा पनि विशेष कार्यक्रमका साथ नमाज पाठ गरिन्छ । पर्वमा इस्लाम धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान धर्मग्रन्थ ‘कुरान’मा उल्लेख गरिएको छ ।  यसरी दान गरिएको नगद वा जिन्सी गरीबलाई बाँडिन्छ जसलाई जकात भनिन्छ ।