आज सोनाम ल्होछार र ग्याल्बो ल्होछार पर्व, सरकारले दियो  सार्वजनिक विदा

Posted: Friday
आज सोनाम ल्होछार र ग्याल्बो ल्होछार पर्व, सरकारले दियो  सार्वजनिक विदा

फागुन ४, काठमाडौं । बौद्ध महायानी धर्मावलम्वीहरुले आज ल्होछार अर्थात नयाँ वर्ष मनाउँदैछन् । तामाङ, ल्होमो लगायतका समुदायले सोनाम ल्होछार र शेर्पा लगायत हिमाली भेगमा बसोबास गर्ने समुदायले ग्याल्बो ल्होछार पर्व मनाउन लागेका हुन् । सोनाम कृषि ल्होथो अर्थात पात्रो अनुसार मलमास परेकाले यो वर्ष सोनाम र ग्याल्बो ल्होसार एकैदिन परेको छ ।

सरकारले माघ ४ गते नै सोनाम ल्होछारको विदा दिएपनि केही तामाङ समुदायले आफूहरुको तिथी र पात्रो अनुसार नमिलेको भन्दै मनाएका थिएनन् । सोनाम र ग्याल्बो दुवैले आज एकैदिन ल्होछार धुमधामका साथ मनाउँदैछन् । आज सरकारले सार्वजनिक विदा दिएको छ । यसअघि माघ ४ गते पनि सरकारले सार्वजनिक विदा दिएको थियो ।

ल्होछार मान्ने समुदायले आजबाट चरा वर्षको विदाइ गरी कुकुर वर्षलाई स्वागत गरेका छन् । हरेक वर्ष जनावर तथा पशुपंक्षीको नाममा ल्हो अर्थात वर्ष फेरिने मान्यताअनुसार यो वर्ष चरा वर्षको विदाइ गरी कुकुर वर्षको स्वागत गरिएको सोनाम ल्होछारका ज्ञाता खेन्पो सोनाम ग्युर्मेले जानकारी दिए ।

आजको दिन बिहानै नुहाइधुवाइ गरी घरघरमा तथा गुम्बाहरुका गएर पूजापाठ गर्ने, नयाँ वस्त्र लगाएर शुभकामना आदानप्रदान गर्ने, मिठा परिकार खाने तथा सामुहिक नाचगान गरेर हर्षोल्लासका साथ मनाउने गरिन्छ । यस्तै आफूभन्दा ठूलाबडासँग टीका ग्रहण गरी आशिर्वाद थाप्ने प्रचलन छ । आजको दिन तरुल, फापरबाट बनेको आलुम र गेङ (रोटी), भटमास र गुन्द्रुक साँधेको, खाप्सी आदि मौलिक खाना खाने प्रचलन छ ।