आज महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी देशभर मनाइँदै

Posted: Tuesday
आज महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी देशभर मनाइँदै

फागुन १, काठमाडाैं । महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ । शिवरात्रि हरेक वर्षको फागुनकृष्ण चतुर्दशीका दिन मनाइन्छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ ।

महाशिवरात्रिका दिन आज बिहान साढे ३ बजेदेखि पशुपतिनाथ मन्दिर दर्शनका लागि खुला गरिएको छ । बिहान साढे २ बजेदेखि भक्तजनहरू दर्शनका लागि लाइनमा बसेका छन् । उमाकुण्ड, मित्रपार्क क्षेत्रबाट प्रवेश गरेका भक्तजन उत्तर ढोका, जयवागेश्वरीबाट प्रवेश गरेका भक्तजन पश्चिम ढोका र विमानस्थल एवम् गौशाला क्षेत्रबाट प्रवेश गरेका भक्तजन दक्षिण ढोकाबाट मन्दिर प्रवेश गरी दर्शन गर्ने व्यवस्था मिलाइएको छ । पशुपतिनाथको पूर्व ढोका भने साढे ७ बजेपछि खुल्ला गरिएको थियो ।

महाशिवरात्रिका अवसरमा पशुपति आउने नागाबाबा, साधुसन्त एवम् महात्माका लागि कोष र गुठी संस्थानले पशुपति क्षेत्र र थापाथलीस्थित कालमोचनघाटमा बस्ने–खाने व्यवस्था गरेका छन् । महाशिवरात्रिका अवसरमा आज पशुपति क्षेत्रमा चार हजार नेपाल प्रहरी, २ हजार ५ सय सशस्त्र प्रहरी र ४ सय राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिएको छ । महाशिवरात्रिका अवसरमा पशुपति आउने नागाबाबा, साधुसन्त एवम् महात्माका लागि कोष र गुठी संस्थानले पशुपति क्षेत्र र थापाथलीस्थित कालमोचनघाटमा बस्ने–खाने व्यवस्था गरेका छन् ।