राजपा नेपाल र फोरम नेपालको मधेसवादी गठबन्धनविरुद्ध बागी नै बागी

Posted: Friday
राजपा नेपाल र फोरम नेपालको मधेसवादी गठबन्धनविरुद्ध बागी नै बागी

कार्तिक १७,काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालबीच निर्माण गर्ने भनिएको लोकतान्त्रिक गठबन्धन असफल भएपछि मधेसवादी गठबन्धनका नेताले बागीको सामना गर्नुपर्ने भएको छ । २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा दोस्रो चरणको निर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता गराएको राजपा नेपाल र फोरम नेपालको मधेसवादी गठबन्धनविरुद्ध बागी नै बागी भएपछि चुनावी माहोल तातेको छ ।

कांग्रेस, राजपा नेपाल र फोरम नेपालका बीचमा लोकतान्त्रिक गठबन्धन निर्माण गरी चुनावमा वाम गठबन्धनसँग प्रतिस्पर्धा गर्ने प्रयास भए पनि नेताहरू लोकतान्त्रिक गठबन्धन निर्माण गर्न असफल भएका हुन् । सिट संख्यामा नेताहरूको आ–आफ्नै अडान भएपछि लोकतान्त्रिक गठबन्धनमा सहभागी नभई राजपा नेपाल र फोरम नेपालले मधेसवादी गठबन्धन निर्माण गरी उम्मेदवारी दर्ता गराएका हुन् । तर मधेसवादी गठबन्धनका नेताहरूविरुद्धमा समेत बागी उम्मेदवारी परेपछि निर्वाचनको परिणाम नै रोचक बन्ने भएको छ । राजपा नेपाल अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले महोत्तरी–३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन् । तर ठाकुरविरुद्ध राजपा नेपालकै निवर्तमान सांसद चन्देश्वर झाले बागी उम्मेदवारी दिएका छन् । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी–२ बाट उम्मेदवारी दिएका छन् । यादवविरुद्ध राजपा नेपालका सहमहामन्त्री जयप्रकाश ठाकुरले बागी उम्मेदवारी दिएका छन् । बागी उम्मेदवारी दिएका ठाकुर राजपा नेपाल अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरका विश्वास पात्रका रूपमा चिनिन्छन् ।

राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारी, महेन्द्रराय यादव र राजकिशोर यादव बाहेकका राजेन्द्र महतो र अनिल झाले पनि आफ्नै बागी उम्मेदवारको सामना गर्नुपर्ने भएको छ । महतोले धनुषा–३ बाट उम्मेदवारी दिएका छन् । महतो अध्यक्ष रहेको तत्कालीन सद्भावना पार्टीका उपाध्यक्ष सञ्जय साहकी पत्नी रंगिला साहले पनि धनुषा–३ बाटै उम्मेदवारी दर्ता गराएकी छन् ।धनुषा–३ बाट महतो, साह र निधिसँगै वाम गठबन्धनबाट पूर्वस्वास्थ्य राज्यमन्त्री रामसिंह यादवले उम्मेदवारी दिएपछि यहाँको निर्वाचन रोचक बनेको छ ।

यस्तै राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य अनिल झाले रौतहट–१ बाट उम्मेदवारी दिएका छन् । जहाँ उनले फोरम नेपालका नेता एवं पूर्वसांसद बबन सिंहको सामना गर्नुपर्नेछ । सिंहले झाका विरुद्धमा बागी उम्मेदवारी दिएका छन् । राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य भण्डारीले महोत्तरी–२ र राजकिशोर यादवले सिराहा–४ बाट उम्मेदवारी दिएका छन् । यहाँ राजपा नेपाल र फोरम नेपालबाट बागी उम्मेदवारी परेको छैन ।