चिनियाँ राष्ट्रपति सी जिनपिङ दोस्रो कार्यकालका लागि चिनियाँ कम्युनिस्ट पार्टीको महासचिवमा निर्वाचित

Posted: Friday
चिनियाँ राष्ट्रपति सी जिनपिङ दोस्रो कार्यकालका लागि चिनियाँ कम्युनिस्ट पार्टीको महासचिवमा निर्वाचित

कार्तिक १०, बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङ दोस्रो कार्यकालका लागि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को महासचिवमा निर्वाचित भएका छन् । सीपीसीको हरेक पाँच वर्षमा हुने महाधिवेशनले उनलाई पुनः अर्को कार्यकालका लागि पार्टीको महासचिव तथा राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।महाधिवेशनले पार्टी प्रमुखसहित पोलिटब्युरो र स्थायी समितिको अध्यक्षसमेत चयन गर्नेछ । बन्दसत्रमा भएको मतदानमा ६४ वर्षीय सीलाई पोलिटब्युरो र स्थायी समितिको अध्यक्ष चयन गरिएको हो ।

यसैगरी चिनियाँ प्रधानमन्त्रीमा लि खछ्याङ नै रहने बताइएको छ । महाधिवेशनले पोलिटब्युरोका पाँच सदस्यसमेत चयन गरेको छ । सी र ली पोलिटब्युरोको स्थायी समितिका नयाँ सदस्य सञ्चारमाध्यममार्फत सार्वजनिक भएका हुन् । नयाँ सदस्यामा ६२ वर्षीय उपप्रधानमन्त्री वांग यांगलाई चीनको कार्यकारी उपप्रधानमन्त्री नियुक्त गरिएको छ । उनी गुवांग्तोंग प्रान्तका पूर्व पार्टी सचिव पनि हुन् । सांघाईमा पार्टी सचिव रहेका ६३ वर्षीय हान झेंगलाई चिनियाँ पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्सको नेतृत्व दिइएको छ । यसका साथै ६० वर्षीय जाओ लेजीलाई शक्तिशाली मानिने भ्रष्टाचारविरोधी समितिको नेतृत्व दिइएको छ ।

यसैगरी ६७ वर्षीय ली जंशु र ६२ वर्षीय वांग हनिङ पनि शक्तिशाली स्थायी समितिको सदस्यमा चयन भएका छन् । कम्युनिस्ट पार्टीको महाधिवेशन अन्त्य भएपछि स्थायी समिति र पोलिटब्युरो चयन गरिन्छ । सीपीसीले शक्तिशाली केन्द्रीय समितिको निर्वाचन गर्छ । जुन समितिमा २ सय सदस्य रहन्छन् । महाधिवेशनपछिको पत्रकार सम्मेलनको बेइजिङको ग्रेट हल अफ दी पिपुलबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । नयाँ स्थायी समिति सदस्यले चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी समितिबाट ६८ वर्ष उमेर हद पार गरेर बिदा भएका नेताहरूको स्थान लिनेछन् ।

संक्षिप्त सम्बोधनका क्रममा राष्ट्रपति सी जिनपिङले कडा मेहनत गरी चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनको समाधान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पु¥याएकोमा सञ्चारमाध्यमलाई धन्यवाद दिएका थिए । उनले चीन आधुनिकताको नयाँ युगमा प्रवेश गरेको बताए । सीले आफूले पाँच वर्षमा धेरै कामहरू गरेको र आगामी पाँच वर्षमा चीनलाई विश्वको एक नम्बर शक्ति राष्ट्र बनाउनका लागि मेहनत गर्ने बताएका थिए ।

उनले १९औं र २०औं महाधिवेशनको बीचको समयमा दुई शताब्दीको लक्ष्य प्राप्त हुने उनको भनाइ थियो । उनले आफूहरूले पहिलो शताब्दीको लक्ष्य प्राप्त गर्नु मात्रै नभई दोस्रो शताब्दीका लक्ष्य हासिल गर्नका लागि पनि काम गर्नुपर्ने उल्लेख गरे । उनले दशकौंको कठिन परिश्रम र चिनियाँ विशेषतासहितको समाजवादको युगमा प्रवेश गरिसकेको उनले उद्घोष गरे । उनले भने, ‘यो नयाँ सन्दर्भमा हामीले नयाँ रूप धारण गर्नु आवश्यक छ र सबैभन्दा जरुरी हामीले नयाँ उपलब्धि हासिल गर्नुपर्दछ ।’

पाँच वर्षमा एकपटक हुने महाधिवेशनको अन्तिम दिन सी जिनपिङको विचारधारालाई पार्टीको विधानमा सामेल गर्न स्वीकृति प्राप्त भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको विधानमा हालसम्म माओत्से तुङ विचारधारा र देङ सियाओ पिङ थ्योरीलाई सामेल गरिएको छ । देङ थ्योरी उनको मृत्युपछि चिनियाँ कम्युनिस्ट पार्टीको विधानमा सामेल गरिएको हो । अब राष्ट्रपति सी जिनपिङको विचारधारालाई चिनियाँ कम्युनिस्ट पार्टीमा र चीनमा अख्तियार गरेको नीति र कार्यक्रमलाई चीनको प्रमुख नीतिका रूपमा लिइने र त्यस विषयमा चिनियाँ विद्यालय र विश्वविद्यालयमा पनि अध्ययन अध्यापन गरिने बताइएको छ । एजेन्सी