निवर्तमान कुमारी मतिना शाक्य पहिलोपटक सार्वजनिक

Posted: Sunday
निवर्तमान कुमारी मतिना शाक्य पहिलोपटक सार्वजनिक

असोज २९ , काठमाडौं ।  भर्खरै जीवित देवी कुमारीको जीवन पूरा गरी सर्वसाधारणका रूपमा फर्केकी मतिना शाक्य पहिलोपटक सार्वजनिक भएकी छन् । उनी शाक्य  भिन्तुना गुठीद्वारा भोटाहिटीमा शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित भएकी हुन् । उनले कार्यक्रममा गुठीबाट निष्कासित चाँदीको सिक्का सार्वजनिक गरिन् ।

निवर्तमान कुमारी शाक्यको दैनिकी सर्वसाधारण बालिकाको जस्तै बित्दै गएको परिवारले जनाएका छन् । ‘आमसर्वसाधारण बालिकाको हुन्छ, त्यसैगरी मतिनाको पनि बित्दै गइरहेको छ,’ बुबा प्रतापमान शाक्यले भने, ‘छोरी स्कुल जान थालेकी छ, स्कुलपछि इतुम्बहालस्थित घरमा दिदीसँगै खेल्छे ।’मतिनाको शिक्षाका निम्ति सरकारले पूर्ण ‘ग्यारेन्टी’ लिनुपर्ने ५० वर्षीय बुबा प्रताप मानको आग्रह छ । ‘पूर्वकुमारीलाई पनि राष्ट्रले सम्मान गर्नुपर्छ,’ उनले भने, ‘राज्यले कम्तीमा पनि शिक्षाको खर्चचाहि“ सरकारले गर्नुपथ्र्यो ।’

निवर्तमान कुमारी मतिनाका बुबा प्रतापमानलाई पहिले आफ्नी छोरीलाई सबैले जीवित देवीका रूपमा मान्दा खुसीको सीमा थिएन । अब सबैले मानेकी देवी छोरीलाई आफ्नै घरमा राखेर साँझ बिहान सँगै बसेर खाँदाको आनन्द बेग्लै छ । मतिनाको घरमा उनका बुबा र दिदीसँगै आमा र हजुरआमा पनि छन् । काठमाडौंमा जीवित देवीका रूपमा कुमारीलाई मानिन्छ । कुमारी मतिना शाक्यको उमेर १२ वर्ष पुगेपछि उनको ठाउँमा नयाँ कुमारी ओमबहालकी तृष्णा शाक्यलाई कुमारीका रूपमा ल्याइएको हो ।

गुठी संस्थानले महाअष्टमीका दिन दुई साताअघि  तृष्णा शाक्यलाई विधिवत कुमारी देवीका रूपमा काठमाडौं वसन्तपुर कुमारीघरमा प्रतिस्थापन गरेको हो । कुमारीलाई इष्टदेवी तुलजा भवानीको प्रतीकका रूपमा समेत मानिँदै आएको छ । कुमारी देवीसँग काठमाडौंका धेरै जात्रा र पर्व जोडिएका छन् । इन्द्रजात्रा, घोडेजात्रा, मत्स्येन्द्रनाथ जात्रालगायत रथायात्रा निकालिन्छ । कुमारी देवीको परम्परा लिच्छिवीकालदेखिकै हो । कुमारीघर निर्माण र रथयात्रा थालनी व्यवस्था भने २ सय ५८ वर्षअघि राजा जयप्रकाश मल्लले गरेका थिए ।