भुटानी देखि रोहिंगासम्म – कहिले सम्म आफ्नै देशबाट भागेर शरणार्थीको उपनामले बाच्ने

Posted: Friday
भुटानी देखि रोहिंगासम्म – कहिले सम्म आफ्नै देशबाट भागेर  शरणार्थीको उपनामले बाच्ने

बिनिता सिवाकोटी असोज ६,काठमाडौं। शरणार्थी नाम मै पिडा लुकेको यस शब्दलाई हटाएर कुनै देशको नागरिक बनेर कहिले ढुक्कको सास फेर्ने ? कहिले नागरिकता देखाई आफ्नो हक अधिकारलाई सुनिश्चित गर्ने ? सरकार कहिले बुझ्ने जनताको कहाली लाग्दा दिन र नढलेका रातहरुलाई ? जनता शरणार्थी बन्छन , त्यहि जनता शरणार्थी कहलाउदा देश चाही किन शरणार्थी बन्दैन ?

 

 

शरणार्थी जसको शब्दले नै बोल्छ कुनै व्यक्ति आफ्नो घर सहर र देशबाट अलग्गिएर वा भनौ जोखिममा रहेको जीवन लाई बचाउन भागेर अर्को स्थानमा पुग्छ । आफु जन्मेको आफ्नो पुर्खाले देखेको र बनाएको आफ्नो सृष्टि भएको स्थानलाई चटक्क छाडेर जान पटक्कै सजिलो छैन । तर पनि त्यहि जीवन जोगाउन र आउदा सन्ततिको बीउ जोगाउन भएपनि बिस्थापित हुनैपर्ने यो कस्तो बाध्यता ! त्यसो त शरणार्थी २ किशिमका छन् तर उनीहरुको पिडामा भने खासै फरक छैन ।

१. जो आफ्नै देशमा निम्तिएको द्वन्दलाई सहन नसकेर , आक्रमणकारी घटनालाई आत्मसात गर्न नसकेर सुरक्षा खोज्दै बाध्यताका साथ अन्यत्र स्थानमा बिस्थापित बन्न पुग्छन । बिगत कै कुरालाई हेर्ने हो भने भुटानमा बस्न नसकेर बिस्थापित बनेका भुटानी शरणार्थीहरु जो अहिले लामो समय बितिसक्दा पनि नेपालस्थित झापा तथा मोरंग जिल्लामा अवस्थित शिबिरमा गुजारा गरिरहेका छन् ।

न त उनीहरु आफ्नो देशमा नै फर्कन सकेका छन्  न् त कुनै ठाउँको नागरिकता र आफ्नो अधिकार नै सुनिश्चित गर्न सकेका छन् ? जसले आएर जे भने पनि चुपचाप सुन्नु पर्ने न त उनीहरुको लागी कुनै कानुन न् कुनै हक अधिकारको न्यायालय ! हक अधिकार त परको कुरा ढुक्कले सास फेर्न सम्म नसकेका उनीहरुलाई कहिले फिर्ता बोलाउने भुटानी सरकारले ? कहिले देखिएला ती ओठमा खुसीका पल ? अनि कहिले बन्छन उनीहरु भुटानका नागरिक ? प्रश्नै प्रश्न बीच उल्झिएको छ कैयौं जिन्दगी यहाँ ! 

उनीहरुलाई आफ्नै देश फर्काउन धेरै पहल पनि नभएका हैनन् तर नतिजा भने शुन्यमै रहयो ।अन्तराष्ट्रिय समुदायको लामो छानबिन पछि तथा प्रतिहिंसाको सम्भावनालाई मध्यनजर गरि यि शरणार्थीहरुलाई संयुक्त राज्य अमेरिकाब्रिटेनअस्ट्रेलिया तथा अन्य युरोपी राष्ट्रमा लैजाने प्रस्ताव ल्याए। यस प्रस्तावमा भूटानी शरणार्थीहरुको मिश्रित प्रतिक्रिया आयो। केहि मानिस अब कुनै पनि देशमा नागरिक बनेर बस्न चाहन्छन त केहि मानिस अफ्नो देशमा नै फर्कन चाहन्छन। ती फर्किन चाहने नागरिकले कहिले टेक्न पाउँछन् आफ्नो जन्मभुमि यो जटिल प्रश्न को उत्तर भने फेला पार्न अत्यन्तै मुस्किल देखिन्छ ।

 

अहिले फेरी मौलाएको छ अर्को शरणार्थीको बिकराल समस्या त्यो हो म्यानमारस्थित बस्दै आएका मुश्लिम रोहिंगा समुदाय । करिब एक महिनादेखी भड्किएको हिँसा र आतंकले गर्दा बिस्थापित बनेका लाखौं मुस्लिम रोहिंगा समुदायका मानीस अहिले शरणार्थी बनेर भारत , बंगलादेश र नेपाल छिर्न थालेका छन् ।   म्यानमारमा पछिल्लो समयमा स्थानीय रोहिङ्गा समुदायका नागरिकमाथि ज्यादती भएको भन्दै देश छोडेर भाग्ने क्रममा कम्तीमा पनि १०० जनाको ज्यान गएको बताइएको छ। गएको अगष्ट २५ तारिखदेखि उक्त विवाद सुरु भएको हो। उनीहरूका अनुसार एक सातामा ५२ वटा आतंककारी आक्रमण भएका छन् । रखिन राज्यका ७ सय घरमा सुरक्षाकर्मीले आगजनी गरेको विस्थापितले बताएका छन् । सो विवादका कारण रोहिङ्गाले देश छोडेका छन्। उनीहरु छिमेकी देश बङ्गलादेशमा पुगेर शरणार्थीको रुपमा रहेका छन्। हाल म्यानमारबाट बङ्गलादेशमा रोहिङ्गा मुस्लिम समूदायका झण्डै तीन लाख मानिस भागेर शरणार्थीका रुपमा बङ्गलादेश विस्थापित भएका छन् ।

 

उक्त क्षेत्रमा भागेर जाने क्रममा आजसम्ममा कम्तीमा पनि १०० जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन्। ज्यान जानेमा कैयौँको सङ्ख्यामा बालबालिका पनि परेका छन् । अब कहिले फर्किन पाउनेछन् यस समुदायका मानिसले पुन आफ्नो देशमा या शरणार्थी बनेरै मृत्युको दोसादमा पुग्ने छ उनीहरुको जीवन ?

२. परिवारको आर्थिक स्थिति कम भएर वा विलासी जीवन जिउने आसमा पनि लाखौ मानिसहरु प्रत्येक वर्ष आफै शरणार्थी बन्ने गरेका छन् । आफ्नो परिवारलाई राम्रो र सुखी जिन्दगी दिन कै लागी चाहेर भनौ या नचाहेर बिदेशी भूमिमा शरणार्थी जीवन बिताउन बाध्य रहेका छन् । यसरि अन्यत्र देशको शरणार्थी बनाईदिन्छु भनेर लोभ लालच देखार घर न् घाटको बनाउने दलालहरुको बिगबिगी पनि दिनानुदिन बढ्दो रहेको छ । दिनहुँ जस्ता विभिन्न अखबार, टेलिभिजन, रेडियो तथा अनलाइन न्युजहरुमा यस्ता खबरहरुले स्थान पाएका हुन्छन । त्यस्तै देशको राजनीतिक अस्थिरता, बेरोजगारीका कारण पनि मानिसहरु बिदेशी भूमिमा शरणार्थी जीवन जीईरहेका छन् । यस्तै बाध्यता र रहरले शरणार्थी बन्ने क्रममा कैयौंले अकालमै ज्यान गुमाएका पनि छन् । तर यसरि जनता शरणार्थी जीवन जिउन बाध्य हुनुमा दोष कसको ?

 

 

शरणार्थी समस्या अहिलेको बिश्वकै बिकराल समस्या हो जसको समाधान निकाल्न उतिकै कठिन पनि रहेको छ । हामीले धेरै देशका शरणार्थीका बारेमा सुन्दै , पढ्दै र प्रत्यक्ष रुपमा देख्दै आएका छौं । उनीहरुका लागी राष्ट्र संघले सहयोग त गरिरहेको छ तर यो पर्याप्त भने छैन । भुटानी शरणार्थी , सिरियाली शरणार्थी , रोहिंगा समुदाय बाट बन्न लागेका यस्ता धेरै शरणार्थी र उनीहरुले बिताएका कष्टकर जिन्दगी, बालबच्चाका सुखेका ती ओठ देख्दा कसको मन नरोला र ?