धनगढीमा मुख्य प्रतिद्धन्दीका रुपमा मुख्य दल र स्वतन्त्र उम्मेदवार हमालका बिच कडा प्रतिस्पर्धा ( भिडियो सहित )  

Posted: Thursday
धनगढीमा मुख्य प्रतिद्धन्दीका रुपमा मुख्य दल र स्वतन्त्र उम्मेदवार हमालका बिच कडा प्रतिस्पर्धा ( भिडियो सहित )  

असार ८,कैलाली । प्रदेश नम्बर ७ को प्रस्ताबीत राजधानी हो धनगढी । धनगढी उपमहानगरपालिका प्रदेश नम्बर सातको एक मात्रै उपमहानगरपालिका हो । यस उपमहानगरपालिकामा ११ जना मेयर र ११ जना उपमेयरको उम्मेदवारी दर्ता भएको छ ।  तीन ठूला दल कांग्रेस, एमाले, माओवादी केन्द्रबीच नै कडा प्रतिस्पर्धा हुने देखिए पनि स्वतन्त्र उम्मेदवार व्यवसायी गोपाल हमालले यी मुख्य दलका उम्मेदवारलाई कडा चुनौती दिएका छन् । कांग्रेसले धनगढी आफ्नो किल्ला बताउँदै आएको छ । ०७० सालको संविधानसभा निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवा र त्यसपछि भएको उपनिर्वाचनमा कांग्रेसकै पुष्करनाथ ओझाले क्षेत्र नं ६ रहेको उपमहानगरपालिकामा जितेकाले धनगढी कांग्रेसको किल्ला भएको दाबी काँग्रेसको छ ।

यस्तै, एमालेले राजनीतिमा त्यति खुलेर नलागेका व्यक्ति तथा निजी कलेज सञ्चालक दुर्गाप्रसाद जोशीलाई मेयरमा उठाएपछि एमालेको अवस्था पनि बलियो नमान्नेहरू धेरै छन् । जोशी भने धनगढीमा एमालेको बलियो र अनुशासित संगठन भएकाले आफू जित्ने दाबी गर्छन् ।  ०५१ सालमा भएको मध्यावधि निर्वाचनमा डोटीबाट एमाले नेता महेश्वर पाठक सांसद बन्नुभएको थियो । ०५४ मा एमालेका खेमराज पाण्डे मेयर बन्नुभएको थियो । धनगढीको मेयरमा राना समुदायको प्रतिनिधित्व गर्दै माओवादी केन्द्रबाट रामसमझ राना मेयरमा उठ्नुभएको छ । ०७० सालको संविधानसभा निर्वाचनमा पनि चौथो र ०७१ सालको उपनिर्वाचनमा धरौटी गुमाएको माओवादी केन्द्रले यसपटक आफ्नो अवस्थामा सुधार आएको भन्दै जित्ने दाबी गरिरहेको छ ।

सुन्दर सुदूरपश्चिम अभियान, सुदूरपश्चिमको विकासका लागि २१ किलोको माला र २१ बुँदे मागसहित देशका कार्यकारी प्रमुखलाई घच्घच्याउने अभियानका लागेका व्यवसायी गोपाल हमालको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दलका लागि चुनौती बनेको छ । ‘धनगढी नगरक्षेत्रको ७० प्रतिशत मतदाता हाम्रो पक्षमा छन्, उर्मा र फूलबारीका मतदाताले पनि एक भोट विकासलाई दिने भनेपछि हाम्रो जित निश्चित छ, हमालले भने । हमालले, धनगढीको विमानस्थल पक्की बनाउन एक रुपैयाँ अभियानको अगुवाइ गर्नुभएको थियो । अखण्ड सुदूरपश्चिम र थरुहटको आन्दोलनपछि मतदाताको सोचमा आएको परिवर्तनले पनि धनगढीको नतिजालाई प्रभावित पार्ने देखिन्छ । दुईवटा फरक(फरक आन्दोलनपछि मतदाताको रुझान कता जाने हो, सहजै अनुमान लगाउन गाह्रो छ । हामीले धनगढी उपमहानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवारहरु गोपाल हमालसँग अनलाईन समयले गरेको कुराकानी गरेका छौं ।