‘भारतले नैतिकताका आधारमा नेपालीसँग रहेको भारु साट्नुपर्छ’ –अर्थविद

मंसिर २,काठमाडौं ।  नेपालीसँग भएको पच्चीस हजार भारुसम्म सटही सुविधाका लागि सरकारले तत्काल भारतीय पक्षसँग गम्भीर छलफल गर्नुपर्नेमा अर्थविदहरुले जोड दिएका छन् । २५ हजार रुपैयाँ भारु राख्न पाउने व्यवस्था भएकाले उक्त परिमाणको रकम साट्न सरकारले भारतसँग विशेष छलफल गर्नुपर्नेमा उनीहरुको जोड थियो ।

1234मिडिया इन्टरनेसनलले राजधानीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले भारतले भारु ५ सय र १ हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपाललाई पनि त्यसको प्रत्यक्ष असर परेको भन्दै त्यसको समाधानका लागि सरकारले गम्भीर पहल गर्नुपर्ने बताए । सरकारले अहिले गरिरहेको प्रयास पर्याप्त नभएको उनको भनाई थियो । ‘अहिले पनि प्रधानमन्त्री र राष्ट्र बैंकका गभर्नरले भारतीय पक्षसँग कुराकानी गरिरहनुभएको छ भन्ने कुरा आएको छ त्यो पर्याप्त देखिदैन ।’ उनले भने, ‘सरकारले यसबारे अझै प्रभावकारी कदम चाल्न आवश्यक छ ।’ भारतीय कदमबाट नेपालीहरुले विदेशी मुद्रा धेरै सञ्चय गरेर राख्न नहुने पाठ सिक्नुपर्ने उनले बताए ।

bharu1कार्यक्रममा बोल्दै पुर्व गभर्नर एवम् अर्थविद् डा. तिलक रावलले भारतले त्यहाँको ठूलो पुराना नोट ‘अवमूल्यन’ गरेयता आफ्नै जनताको समस्या समाधान गर्न नसकिरहेका बेला नेपाल सरकारले पत्र पठाउनेवित्तकै सम्बोधन गर्छ भनेर अपेक्षा गर्न नसकिने बताए । यद्यपी सरकारले पहल जारी राख्नुपर्नेमा उनको जोड थियो । ‘राष्ट्र बैंकले वा सरकारले पत्र लेख्नेवित्तिकै तुरुन्तै भारतले पैसा साटिदिन्छ भन्ने कुरा होइन’, रावलले भने, ‘त्यसैले पैसा साटिएन भनेर तुरुन्तै आत्तिहाल्नुपर्ने अवस्था पनि छैन ।’ भारत सरकारकै आग्रह अनुसार राष्ट्र बैंकले नेपालमा ५ सय र १ हजारको भारु नोट चलनचल्तीमा ल्याएको स्मरण गर्दै पूर्व गभर्नर रावलले भने, ‘भारतले पनि नैतिक रुपमा नेपालीसँग भएको रकम साट्नुपर्छ ।’ नेपालीहरुले पनि अब आफ्नै देशको मुद्रा पनि गोजिमा वा सिरानी मुनी नराखी बैंक तथा वित्तीय संस्थामा राख्न पाठ सिक्नुपर्ने उनको भनाई थियो ।

123अर्थविद् डा. डिल्लीराज खनालले भारु नोटका विषयमा भारतले हालै चालेको कदम नौलो नभएपनि नेपालमा त्यसको प्रभाव गहिरो रुपले परेको औँल्याए । २५ हजारसम्म भारु नोट राख्न पाउने गरी सरकारले नै व्यवस्था गरेकाले उक्त परिमाणमा रकम साट्ने व्यवस्था मिलाईदिने दायित्व सरकारको भएको खनालको भनाई थियो । उनले भने, ‘अब सरकारले कसरी हुन्छ, नेपालीसँग भएको रकम साट्नको लागि भारतलाई सहमत गराउनुपर्छ ।’ भारत सरकारलाई आफ्नै जनतासँग भएको भारु साट्न समेत अप्ठेरो परिरहेका बेला नेपालीसँग भएको भारु त्यति सजिलै नसाट्ने भन्दै खनालले भने, ‘नेपाली पक्षले अलि गम्भीरतापूर्वक कुरा राख्नुपर्छ ।’

bharu2कार्यक्रममा अर्थविद् डा. हरि रोकाले कुनै पनि राष्ट्रमा परिस्थितिअनुसार ‘मनि डिमोर्टिलाईज’ गर्नु अस्वभाविक नभएपनि पछिल्लो भारतीय कदम पूर्ण रुपमा मौद्रिक व्यवस्थापनसँग सम्बन्धित नभएको टिप्पणी गरे । उत्तर प्रदेशसहित दुई ठूला प्रदेशमा हुन लागेको निर्वाचनमा विपक्षीबाट हुन सक्ने पैसाको चलखेल रोक्न र आफ्नो प्रभुत्व कायम राख्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘स्मार्ट पोलिटिकल मुभ’ (चलाखीपूर्ण राजनीतिक कदम) भएको उनको भनाई थियो । भारतीय कदमबाट नेपाललाई परेको प्रभाव न्युनिकरण गर्न सरकारले नै तिब्र र प्रभावकारी पहल गर्नुपर्ने उनले बताए । ‘भारतकै हितअनुकुल प्रतिबन्धित ५ सय र १ हजारका नोट नेपालमा चलाउन थालिएको थियो ।’ अर्थविद रोकाले भने, ‘पच्चीस हजार भारुसम्म सटही सुविधाका लागि सरकारले तत्काल भारतीय पक्षसँग गम्भीर छलफल गर्नुपर्छ ।’

कालोधन, आतंकवाद र नक्कली नोटलाई निरुत्साहित गर्न भन्दै गतसाता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५ सय र १ हजार भारु नोटमा प्रतिबन्ध लगाएको घोषणा गरेका थिए । भारतले उक्त दरका नोटमा प्रतिबन्ध लगाएको भोलिपल्टै अर्थात गत शुक्रबारै नेपालीसँग भएको भारु सटहीका लागि आग्रह गर्दै नेपाल राष्ट्र बैंकले पत्र पठाएपनि भारतले त्यसको जवाफ दिएको छैन । पत्र बुझेको एकसाता पुग्दासमेत भारतबाट कुनै जवाफ नआएपछि आफुसँग भएको रकम नसाटिने आशंकामा सर्वसाधरणमा चिन्ता बढ्दै गएको छ । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिीबि नेपालले पनि भारतीय समकक्षी उर्जित पटेलसहित भारतीय राजदूत रणजीति रायलगायतका भारतीय अधिकारीसँग पटक–पटक छलफल तथा वार्ता गरिरहेका छन् ।

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीअन्तर्गत ३ करोड ३६ लाख ९० हजार भारु रहेको बताएपनि सीमा क्षेत्रका नेपालीसँग त्यो भन्दा पाँच गुणा बढी भारु रहेको ठानिएको छ । सुदुरपश्चिममा मात्रै पाँच अर्बभन्दा बढी भारु रहेको अनुमान गरिएको छ ।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]